११ फागुन, काठमाडौं । भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट आयात गरिने सामानमा लगाएको साढे ४ प्रतिशत सेवा शुल्क भारतले हटाएको छ ।
भारतको वित्त मन्त्रालय, राजश्व विभागले हालै मात्र सूचना निकालेर सेवा शुल्क हटाएको हो । सूचनामा भारतको कर लाग्ने क्षेत्रमा गए यो कर लाग्ने तर, दोस्रो मुलुकमा जाने सामान भने यो कर नलाग्ने उल्लेख छ ।
तर, कागजजातहरुमा आयात भएको सामान भारतीय कर लाग्ने क्षेत्रमा नजाने प्रष्ट खुलाउनु पर्नेछ ।
कोलकातास्थित नेपाली महावाणिज्य दूत एकनारायण अर्यालले राजश्व विभागले सर्कुलर जारी गरेर सेवा शुल्क हटाएको सूचना आएको अनलाइनखबरलाई बताए ।
करिव एक महिनाअघि भारतले सूचना प्रकाशित गरेर भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट हुने आयातमा साढे ४ प्रतिशत सेवा शुल्क लगाएको थियो । भारतले यो आफ्नो बन्दरगाहाबाट आयात गर्ने सबैका लागि लगाएको थियो ।
यसले नेपाललाई ठूलो असर गरेको थियो । भारतीय बाटो हुँदै आउने सबै बस्तुको मूल्य बढ्ने देखिएको थियो । सेवा शुल्क लगाउने भारतको निर्णयको विरोध गर्दै नेपालले भारतीय पक्षसँग खारेजको माग गरेको थियो ।
नेपालले भने भूपरिवेष्ठित राष्ट्रका हैसियतमा भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट आयात हुने सामानमा कुनै पनि कर नलगाउन माग गर्दै आएको छ ।
प्रतिक्रिया