सङ्खुवासभा, बैशाख १३ गते । सङ्खुवासभा स्थित विद्यार्थी संगठनहरुले रेडक्रस सोसाईटी र विद्युत प्राधिकरण खाँदबारी वितरण शाखाको कार्यालयमा तालाबन्दी गरेका छन् । खाँदबारीमा रेडक्रस सोसाईटीको निर्माणधिन भवनमा ११ बर्षिय विद्यार्थी सन्ध्या पन्त करेन्ट लागेर सख्त घाईते भएपनि उपचारमा कुनै चासो नदेखाएको भन्दै बुधबार तालाबन्दी गरेका हुन् ।
यस अघि नै विद्यार्थी सङ्गठनहरु, अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, अनेरास्वबियु क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त विज्ञाप्ती जारी गर्दै ११ बर्षिय विद्यार्थी पन्तको उपचार खर्च र क्षतिपुर्तीको माग राखेका थिए । आफुहरुको मागको कुनै सुनुवाई नभएपछि अनिश्चित कालको लागि दुवै कार्यालयहरुमा ताला लगाउन बाध्य भएको नेपाल विद्यार्थी संघ सङ्खुवासभाका सचिव कुमार विश्वकर्माले जानकारी दिनुभयो । विद्युत प्राधिकरण र रेडक्रस सोसाईटीको लापरबाहीका कारण सन्ध्याको भविश्य अन्धकार बनेको भन्दै विद्यार्थी संगठनहरुले शिक्षादिक्षा र उपचार खर्चको ब्यावस्था गर्नुपर्ने माग राख्दै आएका थिए । उनीहरुको माग पुरा भएपछि मात्र ताला खोलीने अनेरास्वबियु सङ्खुवासभाका सदस्य महेश अधिकारीले बताउनुभयो ।
उता सुर्य आवासिय माविले आफ्नो विद्यार्थीले दुवै हात गुमाएपछि संघर्ष समिति नै बनाएर आन्दोलन थालेको छ । करेन्ट लागेर घाईते भएपछि उपचार हुँदै गरेको पन्तको उपचारको ब्यवस्था, क्षतीपुर्ती, शिक्षादिक्षा, पालन पोषणको पुर्ण ग्यारेन्टीको माग राखेपनि अहिलेसम्म कुनैले पनि चासो नदिएको भन्दै बुधबार ¥याली प्रदर्शन गरेको थियो । ¥यालीले नगरको विभिन्न ठाउलाई परिक्रमा गरि जिल्ला प्रसासन कार्यालयमा धर्ना दिएका थिए । विद्यार्थी घाईते भएपछि संयम्ता अपनाउदै पटक पटकमा क्षतीपुर्तीको माग राख्दै आएपनि आफुहरुको माग कुनै निकायले पनि नसुनेका कारण चरणबद्ध आन्दोलन गर्नु परेको संघर्ष समितिका संयोजक तथा निमित्त प्रधानाध्यापक नवराजराईले बताउनुभयो । तत्काल आफुहरुको माग पुरा नभए थप चरणबद्ध आन्दोलन गर्न बाध्य हुने समेत राईले भन्नुभयो ।
गत चैत्र २० गते विद्यालयबाट फर्कने क्रममा निर्माणधिन रेडक्रसको भवनमा पन्तलाई हाईटेन्सनको विद्युतबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते बनेका पन्तलाई उपचारको लागि भारत समेत लगिएपनि उपचार सम्भव नभएपछि दुवै हात काट्नु परेको सुर्य आवासिय माविले जनाएको छ । पन्तको काठ्माण्डौ स्थीत किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ ।
प्रतिक्रिया