खाँदबारीको तेजरत्न आँखा उपचार केन्द्रमा कानको पनि उपचार हुने




सङ्खुवासभा, साउन २७ गते । शुक्रबारबाट खाँदबारी स्थीत तेजरत्न आँखा उपचार केन्द्रमा कानको पनि उपचार सेवा दिईने भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि स्वर्गीय तेजबहादुर श्रेष्ठ र रत्नकुमारी श्रेष्ठका जेठा छोरा प्रेमचन्द्र श्रेष्ठले पानसमा बत्ति बालेर कानको उपचार सेवाको उद्घाटन गर्नुभएको छ ।

तेजरत्न आँखा उपचार केन्द्रको अध्यक्ष श्याम सुन्दर उदासको अध्यक्षता तथा खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । अब कान सम्बन्धी सम्पुर्ण समस्याहरुको जाँच, अडियो मिटरबाट सुन्न सक्ने क्षमताको जाँच, मेसिन लगाएर सुन्न सक्ने क्षमताको विकास गराउने लगायतका सेवाहरु तेजरत्न आँखा उपचार केन्द्रबाट उपलब्ध गराउने कानका स्वास्थ्यकर्मी क्षितिज बरालले जानकारी दिनुभयो ।

सो सोही कार्यक्रममा जग्गादाता स्वर्गिय तेजबहादुर श्रेष्ठ र रत्नकुमारी श्रेष्ठको शालिक अनावरण गरिएको छ । कार्यक्रममा विगत १२ वर्षदेखि उत्कृष्ट काम गर्दै आएका अमर विष्टलाई नगद र सम्मान पत्रबाट सम्मान गरिएको छ । त्यस्तै सो कार्यक्रममा खाँदबारी नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रमका अध्यक्ष श्याम सुन्दर उदासले कार्यक्रम समापन गर्नुहुँदै एक दाताबाट १० करोड रकम प्राप्त भएको र सो रकमले ईटहरीमा अस्पताल निर्माण गरि सोबाट आर्जित रकमले सङ्खुवासभा, तेह्रथुम, धनकुटा र ईटहरीका नेत्रज्योति संघ जिल्ला शाखा सञ्चालनमा सहयोग गर्ने जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार