चर्किदै जनप्रतिनिधीहरुको आन्दोलन




सङ्खुवासभा, भदौ ६ गते । खाँदबारी नगरपालिकाको प्रमुखले आफुखुसी बजेट बिनियोजन गर्न खोजेको भन्दै तीन दिनदेखि आन्दोलनरत वडा अध्यक्षहरुको आन्दोलन चर्किदै गएको छ । नगर प्रमुखले आफुखुसी निर्णय गरि वडाहरुमा पर्याप्त बजेट नदिएको भन्दै पाँचवटा वडाका अध्यक्षहरुले थालेको आन्दोलनको क्रममा मंगलबार वडा अध्यक्षहरु रिले अनसन बसेका छन् ।

१, ४, ५, ८ र १० नम्बर वडाका अध्यक्षहरुले गत आईतबार नगर प्रमुख मुरारीप्रसाद खतिवडालाई निर्णय सच्याउन र एक करोड रुपैयाँ बजेट बिनियोजन गर्न माग गर्दै विज्ञप्ती बुझाएका थिए । आन्दोलनको दोश्रो दिन सोमबार वडा अध्यक्षहरुले हातमा कालो पट्टी बाँधेर काम गरेका थिए भने तेश्रो दिन मंगलबार नगरपालिका कार्यालयको ढोकामा रिले अनसन बसेर मागको सम्बोधन गर्न दबाव दिएका छन् ।

अनसन बस्दा समेत नगरप्रमुखले आफुहरुको मागलाई सम्बोधन गर्न नचाहेको भन्दै चौँथो दिन नगर प्रमख, उपप्रमुख र नगर अधिकृतको कार्यकक्षमा ताला लगाउने वडा नम्बर एकका वडाका वडा अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिनुभयो । ३५ करोड बजेट आएको र सोबाट १९ करोड बिनियोजन गर्न पाउने प्रावधान रहेपनि हचुवाको भरमा २२ लाख मात्र बजेट छुटाएको श्रेष्ठको आरोप छ । नगर समितिको बैठकमा समेत आफुहरुले सो निर्णयमा आपत्ती जनाएको श्रेष्ठको भनाई छ । ‘प्रत्येक वडामा एक करोड बजेट छुटाउन माग गरेका हौ, श्रेष्ठले भन्नुभयो ‘हाम्रो मागलाई बेवास्ता गरि बल मिच्याई गरेर निर्णय लाद्न खोजिएको छ ।’ वडा प्रमुखहरुले प्रत्येक वडामा तत्काल वडा कार्यालय स्थापना गरि सेवा प्रबाहमा सहजता मिलाउन समेत माग गरेका छन् । यथासक्य चाँडो नगरसभा सम्पन्न गरि नगरपालिकाको विकासमा जुट्नुपर्ने लगायतका चार वटा माग राखेर वडा अध्यक्षहरु आन्दोलनमा उत्रिएका हुन् ।

वडा अध्यक्षहरुले मात्रै आन्दोलनको घोषणा गरेर अगाडी बढेको भए छिटो निकास निस्कीने तर नेपाली कांग्रेस लगायतका पार्टीहरुले पनि समर्थन गर्दै आन्दोलनको घोषणा गरेकोले राजनितिक दलसँगको छलफल पछि मात्र आन्दोलनको निकास निस्किने खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताउनुभयो । बिवाद मिलाउनको लागि दलका प्रतिनिधीहरुसँग पनि पटक पटक छलफल गरेको तर बजेट बृद्धि गर्नु पर्ने एक सुत्रीय माग कै कारण सहमति जुट्न नसकेको खतिवडाले बताउनुभयो । तोकिएको बजेट नगर समितिको बहुमतको निर्णयले पारित गरेकोले पनि तत्काललाई सम्पुर्ण मागहरु सम्बोधन हुने सम्भावना कम रहेको बताउनुभयो । दुई चार लाख थप्दैमा समस्या समाधान नहुने भएकोले पुनः नगरस्तरिय योजनाको छलफल गरेर आन्दोलनको निकास निकाल्न सकिने समेत नगर प्रमुख खतिवडाले बताउनुभयो ।

११ वडा रहेको खाँदबारी नगरपालिकाको मेयर, उपमेयर लगायतका ६ वडाहरुमा एमालेले जितेको थियो भने बाँकी पाँच वडामा नेपाली कांग्रेसले जितेको थियो । आन्दोलनरत वडा अध्यक्षहरुको मागलाई समर्थन गर्दै नेपाली कांग्रेस सहित तीन साना दलले संयुक्त विज्ञप्ती निकालेका थिए ।

 

सम्बन्धित समाचार