सङ्खुवासभा । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको लागि नियुक्त गरिएको म्यादी प्रहरीलाई आज विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले पनि आज एक कार्यक्रम गरि ९ सय १८ जना म्यादी प्रहरीहरुलाई विदाई गरेको छ ।
म्यादी प्रहरीले पाउने अन्तिम किस्ताको पारिश्रमिक तथा प्रमाण पत्र हस्तान्तरण गरेर उनीहरुलाई विदाई गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले बताउनुभयो । म्यादी प्रहरीहरुले प्रहरी जवान बराबरको सेवा सुविधा प्राप्त गरेका थिए ।
म्यादी प्रहरीहरु गत कातिक १२ गते नियुक्त भएका थिए । सङ्खुवासभामा छानिएकाहरु ९ सय १८ मध्ये १८ जनालाई छिमेकी जिल्ला भोजपुरमा खटाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीहरु ५५ दिनसम्मको लागि नियुक्त भएका थिए ।
ईमकालु अनलाईनसँग कुरा गर्नुहुँदै निर्वाचनको समयमा शान्ति सुरक्षा कायम गर्न म्यादी प्रहरीहरुको ठुलो योगदान रहेको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो । निर्वाचनमा खटिएका म्यादी प्रहरीहरु पुनः प्रहरी संगठनमा आवद्ध हुँदा सहज हुने समेत खड्काले बताउनुभयो ।
प्रतिक्रिया