१० माघ, नेपालगन्ज । छोरीको विवाहको लागि अनुदान रकम माग गर्दै स्थानीय वासिन्दाको एक समूहले बाँकेको जानकी गाउँपालिका कार्यालय घेराउ गरेको छ ।
गाउँपालिकाको अध्यक्षमा पराजित रामदेव मिश्रको नेतृत्वमा ६ वटै वडाका वासिन्दाले छोरीको विवाहको लागि अनुदान रकम माग गर्दै कार्यालय घेराउ गरेका हुन् ।
विवाह दर्ता, नागरिकता र जन्मदर्ताको प्रमाण पत्रसहित उनीहरु गाउँपालिका कार्यालय पुगेका थिए ।
टोली नेता रामदेवले गाउँपालिकाका वासिन्दाको छोरीको विवाहको लागि अनिवार्य रुपले अनुदान दिनुपर्ने बताए । उनले भने ‘बाटोघाटो पुलपुलेसा बन्दै गर्छ । त्यो नभए पनि हुन्छ तर, गाउँपालिकामा जन्मेका सबै छोरीको विवाहको लागि अनुदान रकम दिनैपर्छ ।’
रामदेवले गाउँपालिकाले माघ १० गते अनुदान वितरण गर्दैछ भन्ने गलत सूचना दिएर मानिस भेला गरेको गाउँपालिकाका सल्लाहकार किशोर थापाले बताए ।
‘रामदेवले तीन दिन अघिदेखि गाउँपालिकाका सबै वडामा छोरीको विवाहको लागि गाउँपालिकाले १० गते आर्थिक सहयोग वितरण गर्दैछ, सबैले नागरिकता, जन्मदर्ता र विवाह दर्ताको प्रमाणपत्र लिएर रकम लिन आउनु भनेर खबर गरेको कारण सबैले नागरिकता, जन्मदर्ता लिएर गाउपालिका आएका रहेछन्’ उनले भने ।
स्थानीय निर्वाचनमा रामदेवले आफ्नो चुनावी घोषणा पत्रमा आफूले जितेमा गाउँपालिकाका सबै छोरीको विवाहको लागि पाँच लाख रुपैयाँ अनुदान दिने उल्लेख गरेका थिए । अनलाईन खबर
प्रतिक्रिया