करोडौ खर्चीएर निर्माण सम्पन्न भनिए पनि खानेपानी अभाव उस्तैै



खाँदबारी लैजान सभाखोलामा पानी भरिँदै । 

सङ्खुवासभा, माघ १९ गते । खाँदबारी नगरपालिकाको लागि बृहद् खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको भनिए पनि उपभोक्ताहरुले पानी पाएका छैनन् । २४ सैं घण्टा शुद्ध पानी आउने भन्दै करोडौको लागतमा सुरु गरिएको खानेपानी आयोजना पौष १६ गते भित्र सम्पन्न भईसकोको बताईए पनि उपभोक्ताहरुको घरमा पानी अझै पुगेको छैन ।

निर्माण कार्य सम्पन्न हुँदा प्रत्येक उपभोक्ताको घरघरमा पानी आउने र आवश्यकता अनुसार प्रयोग गर्न सकिने भनिएको थियो तर, मुख्य बजार क्षेत्रमा एक दिन बिराउदौ करिब एक घण्टा मात्र पानी आउने गरेको छ । ३ हजार ४ सय ९९ उपभोक्ताहरुबाट सङ्कलन गरिएको २ करोड १५ लाख ४९ हजार ४ सय ३१ रुपैयाँ सहित विभिन्न निकायबाट प्राप्त ४६ करोड ५१ लाख ५६ हजार रुपैयाको लागतमा निर्माण भएको खानेपानी नपाउँदा उभोक्ताहरु निरास बनेका छन् ।

उपभोक्ताहरुले २५ हजार रुपैयाँसम्म तिरेर पनि पानी नपाउँदा कतिपयले आक्रोस समेत पोख्न थालेका छन् । खानेपानीको धारो जडानका लागि चार बर्ष अघि नै रकम तिरिसकेपनि अझै पानीको मिटर समेत जडान नगरिएको खाँदबारी १ का धनबहादुर तामाङले बताउनुभयो । धारामा पानी नआउँदा खाँदबारीका होटल ब्यवसायीहरुले ट्याङ्करबाट सभाखोलाको पानी ल्याउन बाध्य छन् । होटल ब्यावसाय तथा निर्माण कार्यको लागि सभाखोलाबाट ल्याएको पानीलाई प्रतिलिटर १ रुपैयाँ तिर्दै आएको ब्यावसायीहरुले बताउने गरेका छन् ।

आयोजनाको सिमाली खोलाबाट प्रतिसेकेन्ड २४ लिटर र मार्से खोलाबाट प्रतिसेकेन्ड ९ लिटर पानी आपुर्ति हुने र आयोजनाकै कुवापानी ट्रिटमेण्ट प्लाण्टमा प्रतिसेकेन्ड २७ लिटर र गैरीपांमा ट्रिटमेण्ट प्लाण्टमा प्रतिसेकेन्ड ९ लिटर पानी आईरहेको खानेपानी सब–डिभिजन कार्यालय खाँदबारीका प्रमुख रविन्द्रनाथ देवले बताउनुभयो । तर, ट्रिटमेन्ट प्लाण्टसम्म पर्याप्त पानी आएपनि वितरण प्रणाली व्यवस्थीत हुन नसक्दा खानेपानी पुर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।

खाँदबारी देखी ४३ किलोमिटर टाढा रहेका मकालु गाउँपालिका–५ स्थीत मांसिमाको सिमाली खोलाबाट खाँदबारी नगरपालीकामा शुद्ध पिउने पानी वितरण गर्ने भनेर आयोजना सञ्चालन गरिएको थियो । आयोजनाले २०७२ साल माघसम्ममा चौविसै घण्टा शुद्ध पिउन योग्य पानी उपलब्ध गराउने भनि २०७० साल असोज महिना बाट निर्माण कार्य प्रारम्भ गरिएको थियो । तर निर्माण कम्पनी सिनोटिक र आशिष निर्माण कम्पनीले निर्धारित समयमा निर्माण कार्य नसक्दा पाँच पटकसम्म निर्माण समय थप गरि यहि पुष १६ मा निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गरिएको बताईएको छ ।

सम्बन्धित समाचार