संरक्षणको पर्खाईमा कप्दाने पोखरी




सङ्खुवासभा, फागुन २८ गते । जिल्लाको चिचिला गाउँपालिकामा पर्ने ऐतिहासिक महत्व बोकेको कप्दाने पाखरीको अस्तित्व गुम्ने खतरा बढेको छ । पर्यटकीय क्षेत्रको समेत उच्च सम्भावना बोकेको उक्त पोखरीको संरक्षणको अभावमा अस्तित्व गुम्ने खतरा बढेको हो ।

नेपाल भोट युद्धको समयमा नेपाल तर्फका लडाकुहरु भोट क्षेत्रमा युद्ध गर्न जाने क्रममा बोक्न नसकेका आफ्नो युद्ध सामग्रीहरु खाल्डो खनेर छोडेको तर युद्धपछि फर्केर आउदा ति खाल्डोमा आफ्ना सामग्रीहरु पुरै पुरिएर पोखरी बनेको किम्बदन्ती छ । अत्यन्तै गहिरो पोखरी भित्र आफ्ना सामनहरु पुरिएपछि निकाल्न नसकेको र सोहि समयदेखि हालसम्म पानी नसुकेको जानकारहरुले बताएका छन् ।

तर अहिले संरक्षणको अभावमा उक्त पोखरी पुरिन थालेको छ । वरिपरि झारले छोपेको र माटोले पुरिदा पोखरीको क्षेत्रफल समेत सानो हुँदै गएको छ । पोखरी वरिपरि माटोको दलदल भएकोले भासिने डरका कारण कोही पनि पोखरी जजिक जान नसकेको स्थानीय सुनाबुटी शेर्पाले बताउनुभयो । ‘निक्कै गहिरो छ भन्थे, नजिक गयो भने माटो भासिएर पुरिने डर हुन्छ’ शेर्पाले भन्नुभयो ।

पहिले पोखरी ठुलो भएपनि पछिल्लो समय माटो र झारपातले भरिदै जाँदा पोखरीको क्षेत्रफल घट्दै आएको अर्का स्थानीय ङिमादोर्ची शेर्पाले बताउनुभयो । यही तरिका हो भने एक दिन पोखरीको नाम निशाना हराउने स्थानीय शेर्पाले चिन्ता ब्यक्त गर्नुभयो । उक्त पोखरीको संरक्षणमा स्थानीय सरकोकारवालाहरु तत्काल ध्यान जानुपर्ने शेर्पाको भनाई छ । ‘केहि बर्ष अघिसम्म करिब दुई रोपनी क्षेत्रफल जमिन पानीले ढाकेको थियो तर आजभोली एक रोपनी क्षेत्रफलमा पनि पानी छैन जस्तो छ’ स्थानीय राजु घलेले भन्नुभयो ।

उक्त पोखरीसँगै विभिन्न देवी देवताहरुको मन्दिर समेत छ । सो मन्दिर परिषरमा शिबरात्री र बैशाखे पुर्णिमाको बेला मेला लाग्ने गरेको छ । पोखरी र मन्दिर जंगलभित्र रहेको र सो जंगलमा नेपाल बाहिरका चराहरु समेत बसाई सरेर आउने गरेको वातावरण विद् तिर्थबहादुर श्रेष्ठले बताउनुभयो । सो जंगल मकालु बरुण राष्ट्रिय निकुञ्जसँग जोडिएकोले अन्य बन्यजन्तुहरु समेत आउने गरेको वातावरण विद् श्रेष्ठको भनाई छ । उक्त जंगलमा साईप्रसबाट समेत केहि समयको लागि चराचुरुङ्गीहरु आउने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न प्रकारका चराचुरुङ्गीहरु पाईने, पोखरीमा ठुला खालका भ्यागुत्ताहरु पाईने र धार्मीक मन्दिरहरु समेत रहेकोले त्यस क्षेत्र पर्यटकिय क्षेत्रको रुपमा विकशित गर्न सकिने पर्यटन ब्यवसायी मनबहादुर लिम्बुले बताउनुभयो । ‘त्यस क्षेत्रबाट मकालु हिमाल, मत्स्यपोखरी लागायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न सकिने हुँदा पर्यटनको सम्भावना उच्च रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार