संखुवासभा चैत १२ गते । २०५९ सालमा संखुवासभाको चैनपुरमा भएको भिडन्तमा सहभागी अनुपा राई होस आउदा अनकन्टार जंगलमा थिइन । वरपर कोहि थिएन, शरीर थालथिलो अवस्थामा थियो। दुखले शरीर घिसार्दै पार्टीको सम्पर्कमा पुग्दा २१ दिन भएको थियो । पार्टीको सम्पर्कमा पुग्दा पो बल्ल थाहा भयो आफ्नो मृत्यु भइसकेको भनेर शहीद घोषणा गरिसकिएको रहेछ ।
सोही युद्धमा उनको शरीरको विभिन्न भागमा माईन बमको छर्रा छिर्यो । त्यो युद्ध पछि पनि उनले विभिन्न युद्धमा आफ्नो भूमिका देखाइन । माओवादी विद्रोहमा सक्रिय रहिन । हात र कुमको छर्रा निकालियो । तर उनको टाउको र छातीमा रहेको छर्राले यतिबेला बेस्सरी सताउँदै छ । लडाकु मनकुमार राईसँग विवाह बन्धनमा बाधिएर पाँचथर जिल्लाको हिलिहाङ गाँउपालिका–७ एकचेप्पामा आएकी अनुपा यतिबेला पोल्ने, झमझम गर्ने, दुख्ने जस्तो समस्याले ग्रसित भएकी छिन् ।
द्वन्द्वको समयमा अनुपा
व्यवस्था परिवर्तन र जनताको जनजीविकामा सुधार ल्याउन १४ वर्षकै कलिलो उमेरमा अनुपा युद्धमा होमिएकी थिईन । व्यवस्था परिवर्तन भयो, पार्टी सत्तामा केही पटक पुगीसक्यो तर उनी यतिबेला उपचारको याचना गरीरहेकी छन् । आफ्नो स्वास्थ्यमा हरेक वर्ष थपिदै गएको समस्या पत्रकारहरूलाई सुनाउँदै अनुपाले भनिन ‘पार्टी सरकारमा छ । राम्रो ठाँउमा लगेर उपचार गरीदिए राहत हुन्थ्यो । आफैं उपचार गरौ भने आर्थिक अवस्था कमजोर छ ।’
अनुपाले सरकारी सुविधा समेत पाएकी छैनन् । द्वन्द्व पीडितको नाममा विभिन्न व्यक्तिले सुविधा लिएपनि अनुपाले भने केही नपाएको सुनाईन् । घाईतेको लिष्टमा उनको नाम छैन् । युद्धकै समयमा उनको विवाह भयो । एक जना छोरा छन् । पूर्व लडाकु श्रीमान मलेसियामा श्रम गर्दैछन् । ‘वर्षेनी स्वास्थ्य बिग्रीरहेको छ । उपचारका लागि सहयोग भए ठुलो राहत हुने थियो’– उनी भन्छीन । परिवर्तनका लागि ज्यानको प्रवाह नगरी युद्धमा होमिएकी अनुपा उपचारको याचनामा छिन भने श्रीमान विदेशी भुमिमा श्रम गर्दै छन् ।
ओखलढुंगाको कुहिभिरकी अनुपा पढ्दा पढ्दै युद्धमा होमीएकी थिइन । उनी २०६३ सालदेखि घरमा छिन् । राईले लडेका ठूला ५ युद्ध मध्ये संखुवासभा चैनपुरको घटना पछि उनको शरीरमा छर्राले सतायो । टाउको र छातीमा अझै पनि छर्रा निकाल्नका लागि सहयोगको याचना गरीरहेकी छिन् । बच्चा हुने अवस्था देखि उनको राजनीति सक्रियता केही घट्यो । पार्टीमा आबद्ध छिन तर पहिला झै सक्रियता छैन । अझै शरिरमा छर्रा बोकेर उपचारको खोजीमा छिन् । ‘पार्टी सत्तामा पुगिसकेको छ । धेरैले उपचार सुविधा पाएको भन्छन् । तर मलाई कसैले हेरेन’ उनी गुनासो पोख्छीन । दुई पल्ट उनको अप्रेशन भयो । शरीरका विभिन्न भागमा ६ वटा छर्रा बाँकी रहेको उनले सुनाईन ।
छर्रा भएको ठाँउमा बेस्सरी दुख्ने, पोल्ने तथा शरीरको एका पट्टी निदाइरहने समस्यामा गुज्रिएको उनले सुनाइन । कक्षा ९ मा पढ्दा पढ्दै उनी युद्धमा होमिएकी थिईन । परिवर्तन उनको सपना थियो । तर आज उपचारको याचना गर्दै हिड्नु पर्ने अवस्था छ । नेताहरूलाई पटक पटक उपचारकालागि अनुरोध गरेको बताईन । घाईतेको लिष्टमा नाम नभएर समस्या भएको नेताहरुले बताउँने गरेको उनले सुनाईन ।
नागरिक दैनिकबाट
प्रतिक्रिया