यसरी हतियार सहित पक्राउ परेका थिए उनीहरु (भिडियो सहित)




संखुवासभा, असार २२ गते । जिल्लाको विभिन्न स्थानबाट अबैध हात हतियार सहित पक्राउ परेका पाँच जनालाई प्रहरीले हालै सार्वजनिक गरेको छ । सिलिचोङ गाउँपालिका ५ का केदार राईलाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानको क्रममा बाँकी चार जनालाई फरक स्थान र फरक समयमा प्रहरीले पक्राउ गरेको हुन् ।

कसरी पक्राउ परेका थिए उनीहरु ?

गत जेठ ३० गते राती करिब ९ बजे खाँदबारी ३ मानेभञ्ज्याङको बसपार्कमा प्रहरी चेक जाँचको क्रममा साविक याफु गाविस ४ हाल सिलिचोङ गाउँपालिका ५ याफु स्थायी ठेगाना भएको ३५ बर्षिय केदार राईलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीद्वारा अनुसन्धानको क्रममा उनले बोकेको झोला फालेर भाग्न खोज्ने क्रममा राईलाई प्रहरीले नियन्त्रण गरेको थियो । उनले फालेको झोलालाई चेकजाँच गर्ने क्रममा एक थान पेस्तोल, १४ राउण्ड गोली र दुई वटा म्यागजीन फेला परेको थियो । घटना स्थलबाट नै राई सवार को ३१ प ९५४४ नम्बरको मोटरसाईकल पनि बरामद गरेको छ ।

राईलाई पेस्तोल सहित पक्राउ गरिएपछि कहाँ, कसरी र कहिलेबाट उनले पेस्तोल प्रयोगमा ल्याए भन्ने विषयमा अनुसन्धान गर्ने क्रममा भारतीय नागरिक बिहार राज्यका १९ बर्षिय मुन्ना खान भन्ने महोम्मद मुन्ना मन्सुरीले भारतबाट नै नेपाली रुपैयाँ ६५ हजारमा खरिद गरेर राईलाई उपलब्ध गराएको खुल्न आएको थियो । त्यस लगत्तै मन्सुरीलाई असार १८ गते बिराटनगरबाट पक्राउ गरि संखुवासभा ल्याईएको थियो । मन्सुरी खाँदबारी ३ मानेभञ्ज्याङको एक मोटरसाईकल ग्यारेजमा काम गर्दै आएका थिए ।

पक्राउ परेको केदार राईमाथी थप अनुसन्धान गर्ने क्रममा साविक दिदिङ गाविस २ हाल चिचिला गाउँपालिका २ याफुडाँडाका २२ बर्षिय काले भन्ने सुरेन्द्र राईसँग राईफल छ भनेर बताएका थिए । त्यस्तै, केदार राईले नै साविक माङ्तेवा गाविस वडा नम्बर ७ हाल सिलिचोङ गाउँपालिका ४ बस्ने ३२ बर्षीय प्रबिन भन्ने पुर्णकुमार राईसँग पनि कटुवा पेस्तोल छ भनेर बताएका थिए । सोही आधारमा असार ९ गते सुरेन्द्र राईलाई पक्राउ गरि खोजतलास गर्दा ओढारमा लुकाई राखेको अवस्थामा दुई थान थ्री नट थ्री राईफल बरामद् गरिएको थियो ।
केदार राईले भने अनुसार प्रबिन भन्ने पुर्णकमार राईलाई पनि असार १३ गते पक्राउ गरि अनुसन्धान गर्ने क्रममा याङ्देप भन्ने ठाउँको ओढारमा लुकाईराखेको अवस्थामा एक थान कटुवा पेस्तोल, राईफलमा लाग्ने १० राउण्ड गोली लगायत अन्य विष्फोटक पदार्थहरु बरामद गरिएको थियो ।
प्रविन भन्ने पुर्णकुमार राईलाई अनुसन्धान गर्ने क्रममा आफुसँग भरुवा बन्दुक पनि रहेको तर आफ्नो सालो पर्ने साविक मांतेवा गाविस ८ हाल सिलिचोङ गाउँपालिका ४ याङ्देपका सुर्यबहादुर राईलाई राख्न दिएको भनेपछि सुर्यबहादुर राईको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने बारुद, १७ राउण्ड गोली लगायत विष्फोटक पदार्थ बनाउन प्रयोग हुने पदार्थहरु बरामद गरिएको थियो । सो विष्फोटक पदार्थ बरामद् भएसँगै २२ बर्षिय सुर्यबहादुर राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुको सम्पर्कमा अझै अबैध हातहतियार सहितको ब्यक्तिहरु हुनसक्ने भन्दै थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुलाई हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ ऐन अनुसार मद्धा दर्ता गरि कारबाही थालिएको प्रहरी नायव उपरिक्षक श्याम सारुमगरले जानकारी दिनुभयो ।

https://www.youtube.com/watch?v=RaV-MG6ZLgI&feature=youtu.be

(प्रहरीको प्रेस विज्ञप्तीको आधारमा)

सम्बन्धित समाचार