असार सकिदा सङ्खुवासभामा ४० प्रतिशत मात्र रोपाई



सङ्खुवासभा, असार ३२ गते । रोपाईको मुख्य महिनाको रुपमा लिईएको असार सकिसक्दा सङ्खुवासभामा ४० प्रतिशत रोपाई सकिएको छ । हिमाली जिल्ला सङ्खुवासभाको माथिल्लो भेगमा रोपाई सकिएको छ भने तल्लो भेगमा अझै रोपाई सुरु गरिएको छैन ।

तुलनात्मक हिसावले गत बर्ष भन्दा यस बर्ष रोपाई गर्न केही ढिलो भएको जिल्ला कृषी विकास कार्यालय सङ्खुवासभाले जनाएको छ । गत बर्ष असार सकिदा करिब ५० प्रतिशत रोपाई गरिएपनि यस बर्ष जिल्लाको माथिल्लो भेगमा ढिलो पानी परेकोले रोपाई पनि ढिलो भएको बरिष्ठ कृषी विकास अधिकृत रविलाल शर्माले जानकारी दिनुभयो ।

सिंचाई अभाव, जनशक्ति नहुनु लगायतका कारण यस बर्ष रोपाई ढिलो भएको जिल्ला कृषी विकास कार्यालय सङ्खुवासभाले जनाएको हो । पानी ढिलो परेपछि ढिलै मुल फुटेको कारण रोपाईको प्रतिशत कम भएको शर्माले जानकारी दिनुभयो । असारसम्ममा नुम, चिचिला र सभापोखरी गाउँपालिकामा रोपाई सकिएको र अन्यमा बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको तल्लो भागहरुमा भने साउनको दोश्रो हप्ताको सुरुवाती तिर रोपाई गरिदै आएको छ । धानको राम्रो उत्पादन क्षेत्रको रुपमा मानिएको कल्छेबेंशी, चेवाँबेशी, हिंगुवाबेशी, हेलुवाबेंशी, धुपुसेरा, पांठा लगायतका क्षेत्रहरुमा साउन लागेपछि मात्र रोपाई गरिन्छ । यस क्षेत्रमा ‘माना–मुरी’ धान फल्ने गरेको कृषकहरुले बताउने गरेका छन् । यहाँ राम्रो धान उत्पादन हुने भएपनि अपर्याप्त सिंचाईको कारण बेलामा रापाई गर्न नपाईने किसानहरुको गुनासो छ । जिल्लाका केही क्षेत्रहरु सहित यिनै खेतहरुमा रोपाई सक्दा शतप्रतिशत रोपाई सम्पन्न हुने जिल्ला कृषी विकास कार्यालयको दावी छ ।

सङ्खुवासभामा ३० हजार हेक्टरमा धान खेती गरिन्छ । त्यस मध्ये ५ हजार २ सय ४२ हेक्टर बाह्रै महिना सिचिंत हुन्छ भने ९ हजार ३ सय २२ हेक्टर बर्षातको समयमा मात्र सिंचित हुने गरेको छ । १५ हजार ४ सय ३६ हेक्टर क्षेत्रफलको खेतमा भने आकाशे पानीको भरमा रोपाई गर्नु पर्ने बाध्यता छ ।

सम्बन्धित समाचार