सङ्खुवासभा, साउन ४ गते । बर्षायाम सुरु भएसँगै सङ्खुवासभा प्रवेश गर्ने दुवै मार्ग हिलाम्मे हुँदा एक घण्टाको बाटो काट्न घण्टौं विताउनु पर्छ, त्यो पनि दुर्घटनाको उच्च जोखिम मोलेर । तेह्रथुमको बसन्तपुर बजार हुँदै चैनपुर निस्कीने र धनकुटाको लेगुवाहुँदै सभाखोला निस्कीने सडकको हालत बर्षौदेखि भनि साध्य छैन ।
हिउँदभरि धुलाम्मे सडक बर्षा लाग्ने वित्तिकै हिलोको कारण यातायात ठप्प हुन्छ । साँघुरो सडक त्यसमा पनि ठूला मालबाहक गाडीहरूको आवत–जावतले सडकको स्थिति झनै कमजोर बन्दै गएको हो । हिउँदको समयमा निर्माणको काममा कम ध्यान दिने, बर्षा लागेपछि धमाधम काम सुरु गर्ने प्रबृत्तिले सडक अझ हिलाम्मे बनेको छ । स्कुटर, मोटरसाईकल लगायतका साना सवारी साधनबाट आवत जावत गर्ने त कुरै छैन्, ठुला सवारीबाट एक किलोमिटर पार गर्न पनि घण्टौं लाग्ने गरेको छ ।
धर्मदेवी नगरपालिकामा पर्ने टुटे देउरालीदेखि मुढेसम्मको १२ किलो मिटरबाटोको त अझ कुरा गरि साध्य छैन । हिलोको कारण यातायात सञ्चालन गर्न अत्यन्तै सास्ती ब्यहोर्नु परेको छ । यहाँको समस्या यस बर्ष मात्र नभएर बर्षौदेखिको हो । पक्की सडक निर्माणको लागि ठेक्का लिएको याक्थुमहाङ्ग निर्माण सेवाले निर्माण कार्य सम्पन्न गर्ने अवधी सकिन लाग्दा २५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख कृष्णराज अधिकारीका अनुसार निर्माण अवधी आउँदो भदौमा सकिदैछ । बाँकी रहेको ७५ प्रतिशत काम दुई महिनामा कुनै हालतमा पनि सम्पन्न हुने देखिदैन । २६ करोड लागत रकम रहेको उक्त सडक निर्माणको लागी २०७२ को भदौमा सम्झौता भई आगामी भदौमा सम्पन्न गर्नु पर्नेछ ।
त्यस्तै, रौटा कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको लेगुवा–तुम्लिङटार सडकको अवस्था पनि बेहाल छ । विच बाटोमा निर्माण कार्य भईरहेकोले पनि बाटो अझ हिलाम्मे बनेको छ । ४० करोड रुपैयाँको लागत रकम रहेको सो सडक निर्माणको सम्झौता एक बर्ष अघि भएको थियो, यसको सम्पन्न गर्ने मिति अझै एक बर्ष बाँकी छ । निर्माण अवधीको आधा समय बित्दा ३० प्रतिशत मात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । बर्षातको समयमा गरिने निर्माण कार्यले यात्रुहरुले पाउनुसम्मको सास्ती पाएका छन् ।
चुनाबका बेला यी सडक खण्डहरू बाह्रै महिना सञ्चालन गर्ने मुख्य ‘एजेन्डा’ लिएर निर्वाचनमा होमिएकाहरूले अहिले कम चासो दिएको स्थानीय नागरिकहरुको गुनासो छ । ‘चुनावमा हार्नेहरु त हारेर गए, जित्नेहरुको पनि आँखा पुगेको जस्तो लाग्दैन’, धर्मदेवी नगरपालिका १ का धननाथ अधिकारीले भन्नुभयो । तर, बाटोको हालत खराब हुनुमा जनप्रतिनिधीहरु दोसी नरहेको प्रतिनिधी सभाका सदस्य तथा संघिय सांसद राजेन्द्र गौतमको भनाई छ । सडक सहज नहुनुको सम्पुर्ण जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने गौतमको तर्क छ । हालै खाँदबारीमा सम्पन्न भएको पत्रकार सम्मेलनमा सांसद गौतमले भन्नुभयो, ‘सडकको जिम्मेवारी हामी जनप्रतिनिधीले लिन्नौ, जनताले पनि लिदैनन्, सम्पुर्ण जिम्मेवारी ठेकेदारले लिनुपर्छ ।’ निर्माणको सुरुवातीदेखि नै समयमा निर्माण सम्पन्न गर्न दवाव दिएपनि उनीहरुले अटेर गरेको सांसद गौतमको भनाई छ ।
गत जेठमा गृहमन्त्री रामबहादुर थापाको सङ्खुवासभा भ्रमणको बेलामा पनि गौतमले यस्तो गुनासो पोख्दै मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्धारित समयमा निर्माण कार्य नसक्ने कम्पनीको लागि समय नथप्ने गौतमले स्पष्ट पार्नुभयो । ‘टुटे देउराली–मुडे सडकको निर्माण अवधी सकिन लागेको छ, अव उसको लागि कुनै हालतमा बहाना बनाएर समय थप हुदैन’, गौतमले भन्नुभयो । तर डिभिजन सडक कार्यालय तुम्लिङटारका प्रमुख कृष्णराज अधिकारीले भने ‘पेनाल्टी’ लगाएर काम गराउन उचित हुने बताउनुहुन्छ । ठेक्का तोडेर अर्को प्रकृया सुरु गर्न थप दुईचार बर्ष लाग्ने भएकोले उनैलाई कारबाही गरेर थप समय थप्न प्राविधिक हिसावले राम्रो हुने अधिकारीको सुझाव छ ।
प्रतिक्रिया