सिलिचोङमा ट्रान्सफर्मर पड्किएपछि पुरै गाउँ अन्धकार



सङ्खुवाभसा, साउन १९ गते । जिल्लाको दुर्गम मानिएको सिलिचोङ गाउँपालिका २ बालामा ट्रान्सफर्मर पड्किएपछि बाला गाउँ अन्धकारमय बनेको छ । बालाको पेलुम्बामा राखिएको हाईटेन्सनको लाईनमा ट्रान्सफर्मर विग्रिएपछि पाँच सय भन्दा बढी उपभोक्ताहरु अध्यारोमा बस्नु परेको छ ।

दुई हप्ता अघि ५० केभिएको ट्रान्सफर्मर बिग्रिएपछि पेलुम्बा, ताम्दक, सङ्खक, डाँडागाउँ लगायतका टोलका नागरिकहरु उज्यालोबाट बञ्चित भएका छन् । विद्युत प्रबाहकै क्रममा बिग्रिएको ट्रान्सफर्मर मर्मतको लागि प्रयास गरिएपनि महँगो शुल्क लाग्ने भएकोले नयाँ खरिद गर्न लागिएको शिलिचोङ गाउँपालिका दुई नम्बर वडाअध्यक्ष मोहन शंसेर कुलुङले जानकारी दिनुभयो । महँगो शुल्क तिरेर मर्मत गर्नुभन्दा नयाँ किन्न फाईदा भएकोले अर्को ट्रान्सफर्मर मगाई सकिएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । ट्रान्सफर्मर आउने क्रममा रहेको र आईपुगे लगत्तै जडान गरेर विद्युत सुचारु गरिने कुलुङको भनाई छ ।

चार बर्ष अघि स्थानीय शिसुवाखोलाबाट निकालिएको ६० किलोवाट क्षमताको लघु जलविद्युत सिलिचोङ गाउँपालिकाका १, २ र ३ नम्बर वडाका नागरिकहरुले उपभोग गर्दै आएका छन् । वडा नम्बर २ बालामा विद्युत अवरुद्ध भएपनि अन्य वडाहरुमा भने सुचारु छ ।

सम्बन्धित समाचार