संखुवासभा, भदौ ३१ गते । संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका ७ को सहकारी संस्थामा लगाइएको ताला २७ घण्टा पछि खुल्यो भन्ने समाचार प्रशारण तथा प्रकाशन भएपछि पत्रकारलाई धम्की आएको छ । सहकारीको समाचार लेखेको भन्दै एभीन्युज टेलिभिजन तथा पूर्वेली न्युज अनलाइनका जिल्ला संवाददाता मेघराज तामाङलाई धम्की आएको हो ।
आइतबार बिहान करिब १०ः३० बजे अपरिचित नम्बर ९८४२११९२७१ बाट फोन गरी सहकारीको अध्यक्ष की, सेयर सदस्य होस् तँ, तलाई के को चासो, आयन्दा सहकारीको समाचार लेखिस् भने ठिक हुने छैन भन्दै धम्की आएको पत्रकार तामाङले बताए । नगरपालिका –७ मा रहेको निमनगडी साना किसान कृषि सहकारी संस्थामा भएको आर्थिक अनियमितताको बारेमा हिसाब सार्वजनिक नगरेको भन्दै बिहिबार सेयर सदस्यहरुले ताला लगाएको र शुक्रबार साँझ चार बुदे सहमतिपछि ताला खुलाएका थिए ।
पत्रकार तामाङले सहकारीमा लगाइएको ताला २७ घण्टा पछि खुल्यो भन्ने समाचार प्रशारण तथा प्रकाशन गरेका थिए । उक्त सहकारीमा २०७२/०७३ को अन्तिम लेखापरिक्षणले ३६ लाख ७० हजार ९ सय ६२ रुपैंया वेरुजु देखाएको छ ।
यसै विच, धम्किपूर्ण अभिव्यक्ति प्रति आपत्ति जनाउँदै पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले विज्ञप्ति मार्फत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनीएको छ, यस्तो किसिमको अभिब्यक्ति र धम्किले सर्वसाधरणलाई सुशुचित तथा सूचना पाउने अधिकारलाई कुण्ठित बनाएको र सिंगो पत्रकारिता पेशाकर्मीलाई समाचार संकलन तथा प्रशारण र प्रकाशनमा समेत आघात पुग्ने महासघको ठहर छ । धम्कि दिई मानसिक तनाव दिने सम्लग्न ब्यक्तिलाई तत्काल पक्राउ गरि कानुनी कारवाहिको दायरामा ल्याई शक्त कारवाहीको लागी पत्रकार महासंघ जिल्ला शाखा संखुवासभा जोडदार माग गर्दछ । उनी नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाका सदस्य समेत हुन् ।
प्रतिक्रिया