सङ्खुवासभा, भदौ ३१ गते । सङ्खुवासभा सदरमुकाम खाँदबारीको सडक किनारमा फोहोरको थुप्रो बढ्न थालेको छ । पछिल्लो समय खाँदबारीतुम्लिङटार सडकको किनारमा फोहोर थुप्रिन थालेको हो ।
खाँदबारी बजार र तुम्लिङटार विचको सालघारी क्षेत्रको सडकको किनार ठाउँ ठाउँमा फोहोर फालिएपछि दुर्गन्ध समेत फैलिन थालेको छ । जथाभावी फोहोर फाल्न थालिएपछि सालघारी सडकको सौदर्य समेत हराउन थालेको छ । सडक किनारमा गाडीबाट फोहोर ल्याएर खनाईएको भएपनि कस्ले त्यसरी फोहोर फालेको हो भनेर अहिलेसम्म खोजी पनि गरिएको छैन । सडक किनारमा निर्माण सामग्री, होटलबाट निस्किने फोहोर, फर्निचर, पसलबाट निस्किने फोहोरहरु फालिएको पाईएको छ । फालिएको फोहोरको डङ्गुर भित्र सिसाको बोत्तल, प्लाष्टिक, कार्टुन, लत्ताकपडाको टुक्रा, खेर गएको खाद्य पदार्थ लगायतका बस्तुहरु छन् ।
खाँदबारी नगरपालिकाले बजार क्षेत्रको फोहोर ब्यवस्थापनको लागि छुट्टै ट्रयाक्टरको पनि ब्यवस्था गरेको छ । फोहोर उठाईदिए वापद बजारवासीहरुबाट केही शुल्क पनि नगरपालिकाले उठाउँदै आएको छ । तर कतिपय बजारवासीहरुले शुल्क नतिरेको कारण ट्रयाक्टरले फोहोर उठाएको छैन । त्यसरी शुल्क नतिर्नेहरुले फोहोर फालेको हुनसक्ने स्थानीयहरुले बताउने गरेका छन् । नगरपालिकाले ब्यावसायको प्रकृति अनुसार दुईसय रुपैयाँदेखि हजार रुपैयाँसम्म शुल्क लिँदै आएको छ ।
सडक नै कुरुप पार्ने गरि यत्रयत्र फोहोर फालिएपनि अहिलेसम्म खाँदबारी नगरपालिकाले भने यस बारे चासो दिएको छैन । अहिले सडकको ठाउँठाउँमा फालिएको फोहोरलाई नियन्त्रण गर्न नसके भोली ‘डम्पीङ साईड’ बन्ने सम्भावना बढेको छ । फोहोर जस्ले फालेको भएपनि कारबाहीको दायरामा ल्याएर ब्यवस्थीत गर्नु पर्ने खाँदबारी १ का ब्यावसायी कृष्णभगत प्रधानको भनाई छ । खाँदबारी नगरपालिकाले अहिले नै नियमन गर्न नसके भोली सवैले फोहोर लगेर फाल्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया