माथिल्लो अरुण कम्पनी मोडलमा निर्माण गरिने




काठ्माण्डौ, असोज ७ गते । सरकारले संखुवासभामा रहेको ७२५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना सर्वसाधारणलाई समेत सेयर दिने गरी कम्पनी मोडलमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत् आयोजना निर्माण गर्न सहमति दिने निर्णय गरेको हो ।

प्राधिकरणले आयोजना निर्माण गर्न अपर अरुण जलविद्युत लिमिटेड नामक कम्पनी स्थापना गरिसकेको छ । सरकारले २०६९ फागुनमा आफ्नो स्वामित्वमा रहने गरि प्राधिकरण मार्फत् आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । यही निर्णयका कारण कम्पनीले आयोजनाको सर्वे लाइसेन्स पाउन सकिरहेको थिएन । कम्पनीले २०७३ को चैतमा लाइसेन्सका लागि विद्युत विकास विभागमा आवेदन दिएको थियो । मन्त्रिपरिषद्को शुक्रबारको निर्णयबाट आयोजना कम्पनी मोडलमा निर्माण गर्न बाटो खुलेको प्राधिरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले जानकारी दिनुभयो । उर्जा मन्त्री वर्षमान पुनले जनताको लगानी रहने गरी आकर्षक आयोजना अगाडि बढाउने घोषणा गर्नुभएको छ ।

यही घोषणा कार्यान्वयन गर्न माथिल्लो अरुण कम्पनी मोडलमा अगाडि बढाइएको बताइएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजना लगानीका हिसाबले आकर्षक रहेको प्राधिकरणले गरेको अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक ४ अर्ब ४१ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुने प्रधिकरणले जनाएको छ । यसमध्ये हिउँदमा १ अर्ब ४४ करोड ८० लाख र वर्खामा २ अर्ब ९६ करोड ६० लाख युनिट ऊर्जा उत्पादन हुने देखाएको छ ।

सम्बन्धित समाचार