निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै सङ्खुवासभामा विरोधका कार्यक्रम तिब्र



सङ्खुवासभा, असोज ८ गते । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएको निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै सङ्खुवासभामा पनि तिब्र बिरोध सुरु भएको छ । विभिन्न महिला अधिकारवादी संघ संस्थाहरुले चरणबद्ध कार्यक्रमहरु आयोजना गरि दोसिको कारबाहीको माग गरिरहेका छन् ।

नेपाल महिला संघ सङ्खुवासभाले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । आईतबार ¥याली सहित जिल्ला प्रसासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् ।

निर्मला पन्तको हत्यापछि यत्तिको दिन वित्दा पनि दोशी पत्ता लगाउन नसक्नुले सरकारको लाचारीपन देखाएको आरोप लगाएका छन् । नेपाली कांग्रेसका नेताहरुको समेत सहभागीता रहेको ¥यालीले करबृद्धि, मुल्यबृद्धि लगायतको विरोधमा पनि नाराबाजी गरेका थिए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले आईतबार नै प्रधानमत्रीको कार्यालयमा उक्त ज्ञापन पत्र पठाउने बताउनुभएको थियो ।

त्यस्तै, विभिन्न ११ महिला अधिकारवादी संघसंस्थाहरुले पनि निर्मला पन्तको हत्याको विरोधमा जिल्ला समन्वय समितिमा एक घण्टा धर्ना दिएका छन् । अन्तर पार्टि महिला संजाल संखुवासभा र महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालको अगुवाइमा यौनजन्य अपराधको बिरोध गर्दै जिल्ला समन्वय समितिको कार्यालय अगाडी आईतबार धर्ना दिएका हुन् ।

उनीहरुले यौन जन्य अपराधको विरोधमा विरोध ब्यानरसहित कालो पट्टी बाँधेर दिउँसो १२ बजेदेखि १ बजेसम्म धर्ना दिएका छन् । उनीहरुले असोज २४ गतेसम्म दैनिक एक घण्टा धर्ना दिने कार्यक्रम राखेका छन् । अन्तर पार्टी महिला सञ्जालले पनि सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । बलात्कार जस्तो जघन्य अपराधको दोशी पत्ता लगाउन नसक्नेले राज्य संयन्त्र कमजोर रहेको पुष्टि भएको आरोप लगाउदै आएका छन् । उनीहरुले पनि कञ्चनपुरका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कानुनी दायरामा ल्याउन माग गर्दै आएका छन् ।

सम्बन्धित समाचार