सङ्खुवासभा । पेट दुख्ने समस्या भएपछि मकालु ५ पाथिभराकी सृष्टि राई जिल्ला अस्पताल खाँदबारीमा भर्ना हुनुभयो । रक्तस्राव नरोकिएको र पेटसमेत निरन्तर दुख्ने समस्या भयो । उहाँलाई चिकित्सकले भिडियो एक्सरेपछि बल्ल थाहा भयो कि उनको पाठेघर फुटेर बाहिर गर्भ बसेको रहेछ । राईको पाठेघर फुटेको र रक्तस्राव नरोकिएकाले खाँदबारी अस्पतालले अन्य ठुलो अस्पतालमा रिफर गर्यो ।
तर, राईको उपचार जिल्लाभन्दा बाहिर लान आर्थिक अवस्था कमजोर भएको र सडक मार्गसमेत वर्षाले हिलाम्मे भएकाले उनको परिवारले जिल्ला अस्पतालबाट नै उपचारको याचना गरे । चिकित्सकले उहाँको शल्यक्रिया गर्न सुविधा सम्पन्न अस्पताल पठाउन भनेको थियो । हिलाम्मे सडक, हवाईजहाजमा पठाउन मौसमका कारण सम्भव भएन । चिकित्सकबीच छलफलपछि राईको सल्यकृया जिल्ला अस्पताल खाँदबारीमै गर्ने अप्रेसन टोलीले निर्णय गर्यो । उपचारमा संलग्न डा. युवराज बस्नेतले भन्नुभयो, ‘सडक मार्ग र जहाजबाट लैजान नसक्ने भएपछि हामीले यहीँ शल्यक्रिया गर्ने आट र्गयौँ । शल्यक्रियापछि राईलाई आइसियुमा राख्नुपर्ने अवस्था हुनसक्थ्यो । आइसियुको सुविधा यहाँ नभएकाले हामी डराएका थियौँ तर त्यस्तो गाह्रो भएन ।’
डा. युवराज बस्नेतले पाठेघर बाहिर गर्भ बसेको फुटेपछि शल्यक्रिया गरेको यो पहिलो भएको बताए । ‘झण्डै साढे २ घण्टा लामो प्रयासपछि राईको शल्यक्रिया सफल भयो । राईको पाठेघर बाहिर करिब सात हप्ताको गर्भ फुटेको थियो’, स्वास्थ्य प्रमुख डा. लक्ष्मण खड्काले भन्नुभयो, ‘ठूलो रिस्क मोलेर शल्यक्रिया भयो । राईकोको पाठेघरमा झण्डै तीन लिटर रगत जमिसकेको थियो । भित्रभित्रै आन्तरिक रक्तस्राव पनि भएका चिकित्सकहरुको भनाई थियो । बिरामीको श्रीमान उत्तम राईले भन्नुभयो ‘अस्पतालका चिकित्सकले पाठेघर बाहिर बसेको गर्भ फुटेको जानकारी दिएपछि मात्र आफुलाई थाहा भएको बिरामीका श्रीमान उत्तम राईले बताउनुभयो । सृष्टिको गर्भ अस्पताल आउनुअघि नै फुटिसकेको रहेछ’, उहाँले भन्नुभयो, ‘माया मारिसकेको ज्यान बचाइदिएकोमा मेरा लागि चिकित्सक भगवान सावित भए ।’
अस्पतालले सुविधा सम्पन्न शहरमा लैजान रिफर गर्दा पनि जोखिम मोलेर शल्यक्रिया गरिदिन आग्रह गरेको उहाँको भनाइ थियो । शल्यक्रियापछि अहिले बिरामीको अवस्था सामान्य हुँदै गएको जिल्ला अस्पतालले जनाएको छ ।
प्रतिक्रिया