मकालुका अग्नी पिडित बृद्धलाई घरदेखि चम्चासम्म राहत



अग्नी पिडित गुरुङको छोरालाई चेक सहित राहत सामग्री हस्तान्तरण गरिदै ।

सङ्खुवासभा, मंसिर १३ गते । गत असोज १९ गते घरमा आगलागि भएपछि सर्बस्व गुमाएका मकालु गाउँपालिका ५ मांसिमाका ९० बर्षिय पुरनध्वज गुरुङलाई विभिन्न संस्थाहरुले घर बनाईदिने भएका छन् । गुरुङको परिवारलाई घरसँगै खाद्यन्न, लत्ताकपडा, भाडावर्तन पनि प्रदान गरिएको छ ।

अग्नी पिडित गुरुङलाई हङ्कङमा रहेको सङ्खुवासभालीहरुको संस्था सङ्खुवासभा समाज हङ्कङ्ले घर बनाईदिने भएका हुन् । हङ्कङमा कार्यरत नेपालीहरुबाट सङ्कलन गरेको चार लाख ३५ हजार तीन सय ११ रुपैयाँ रकमले गुरुङको घर बनाईदिने भएका हुन् । उक्त रकमको चेक बुधबार एक कार्यक्रमको आयोजना गरि सङ्खुवासभा हङ्कङ प्रतिभा पुरस्कार प्रतिष्ठान, सङ्खुवासभाले हस्तान्तरण गरेको छ । चेक हस्तान्तरण गर्नुहुँदै प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष टिकाराम गुरुङले जतिसक्दो चाँडो घर बनाएर हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो । भवन बनाउनको लागि मकालु गाउँपालिकाको प्रविधिकले घरको डिजाईन र स्टिमेट बनाईसकेकोले अब तत्काल निर्माणको कार्य सुरु गरिने प्रतिष्ठानका सचिव किरण शाक्यले जानकारी दिनुभयो ।

त्यस्तै, गुरुङहरुको जातिय संस्था तमु छोज धीं गुरुङ राष्ट्रिय परिषद, सङ्खुवासभा र काठ्माण्डौले पनि लत्ताकपडा र भाडा बर्तन उपलब्ध गराएको छ । परिषदले ओड्ने, ओछ्याउने, लगाउने कपडाहरु र गाग्री, भाँडा थाल, बढुको, चम्चा लगायतका राहत सामग्रीहरु उपलब्ध गराएको हो । संयुक्त रुपमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा छोज धीं सङ्खुवासभाका अध्यक्ष मित्रबहादुर गुरुङले राहत सामग्री हस्तान्तरण गर्नुभयो । यो संस्थाले ५१ हजार ४ सय रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा मकालु गाउँपालिका स्थीत नुम बजारका दुई स्थानीय ब्यापारिहरुले पनि ओड्ने कपडा उपलब्ध गराएका छन् ।

यस अघि अग्नी पिडित गुरुङलाई गाउँपालिकाले खाद्यन्न र केही लत्ताकपडा उपलब्ध गराएको थियो । गुरुङ राहत वितरण कार्यक्रममा सहभागी हुन नसकेपछि उहाँका छोरालाई राहत सामग्री हस्तान्तरण गरिएको थियो । गुरुङको एक तले खरको छाना भएको घर सहित सवै सामग्री जल्दा करिब १० लाख बराबरको क्षति भएको थियो ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार