सोलुखुम्बुको दुई विमानस्थल वर्षौंदेखि बन्द



सोलुखुम्बु, माघ ८ गते । सोलुखुम्बुमा चार विमानस्थलमध्ये दुई वर्षौंदेखि बन्द छन् । जिल्लाको तल्लो भेगको घनाबस्तीलाई लक्षित गरी करोडौँको लगानीमा बनाइएको काँगेलडाँडा विमानस्थलमा चार वर्षदेखि जहाजले उडान नगर्दा गौचरणमा परिणत भएको छ । सोलुखुम्बु नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रूपमा परिचित छ ।

पछिल्लो समयमा काँगेलडाँडासम्म सडक सुविधा पुगेपछि यात्रु नपाएको भन्दै विमानस्थलमा उडान बन्द भएको विमान कम्पनीहरूले जनाएका छन् । स्थानीय अगुवाहरूले भने पटकपटक नियमित उडानका लागि आग्रह गर्दा समेत सम्बन्धित निकायले चासो नदिएको गुनासो गरेका छन् । हाल फाप्लु विमानस्थल र लुक्लाको तेन्जिङ हिलारी विमानस्थल मात्र सञ्चालनमा छन् ।

त्यस्तै, नेपालकै सबैभन्दा बढी उचाइमा रहेको स्याङ्बोचे विमानस्थल पनि १० वर्षदेखि बन्द छ । करिब ६० वर्ष पहिले नै निर्माण भई सञ्चालनमा आएको उक्त विमानस्थलमा अहिले कुनै उडान तथा अवतरण हुनसकेको छैन । उक्त विमानस्थललाई हेलिकोप्टरले सामान ढुवानीका लागि प्रयोग गर्दै आएका छन् । खुम्बु क्षेत्रमा आवश्यक खाद्यान्नलगायत अन्य सामग्री हेलिकोप्टरमार्फत विमानस्थलमा झारिने भए पनि हवाई उडान ठप्प हुँदा स्थानीय यात्रुले पनि हेलिकोप्टरमा आवतजावत गर्न महँगो भाडा तिर्नुपरेको छ ।

स्याङ्बोचेमा धावनमार्ग छोटो भएकाले पहिला एउटा मात्रै इन्जिन भएका पिलाटस पोर्टर विमानले उडान गर्दै आएको भए पनि पछिल्लो समय त्यस्ता विमान नभएका कारण विमानस्थलमा उडान हुन नसकेको बताइएको छ । १० वर्ष पहिले एउटा इन्जिन भएको जहाज सञ्चालनमा रहँदा स्थानीयले नै विमानस्थल निर्माण गरी सञ्चालनमा ल्याएका थिए । हाल नेपालमा दुईवटा इन्जिन भएका जहाज मात्र रहेकाले उडान हुन नसकेको स्थानीय लमाकाजी शेर्पाले बताउनुभयो । स्याङ्बोचे विमानस्थललाई विस्तार गरेर सञ्चालन गर्न सके लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल हुने विमानको चापसमेत घट्ने उहाँको भनाइ छ । समुद्री सतहदेखि तीन हजार सात मिटर उचाइमा रहेको यो विमानस्थलमा स्थानीयले विमानस्थल सुचारु गर्न पटक–पटक माग गरे पनि विमान कम्पनीहरूले उडान भरेका छैनन् ।

सन्तोष राउत, गोरखापत्र दैनिक

सम्बन्धित समाचार