भद्रपुर, – नेपालमा प्रतिबन्धित भारतीय ओरियन्ट्स कम्पनीको आयुर्वेदिक औषधि नेटवर्किङ व्यवसायमार्फत नेपालमा कारोबार गरेको आरोपमा झापा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ।
भारतको चेन्नईस्थित ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रालिद्बारा उत्पादित विभिन्न प्रकारका आयुर्वेदिक औषधिलाई नेपाली बजारमा कारोबार गराउन भारतीय नेटवर्किङ व्यवसायले नेपाली युवायुवतीलाई प्रयोग गर्न थालेको थाहाखबरमा समाचार आएलगतै प्रहरीले झापाको मेचीनगरबाट १३ महिलासहित २१ जनालाई पक्राउ गरेको हो।
प्रतिबन्धित औषधिलाई नेटवर्किङ व्यवसायमा संलग्न गराउँदै सयौँ नेपाली युवालाई ठगी धन्दामा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएपसी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका उनीहरूले मेचीगरस्थित धुलाबारीको खुट्टेडाँगीमा एउटा कोठा भाडामा लिएर औषधिको नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आइरहेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।
पक्राउ पर्नेमा १३ महिला र ८ जना पुरुष रहेका छन्। उनीहरूको उमेर १७ देखि २० वर्ष समूहका रहेको बताइएको छ। पक्राउ पर्ने झापासहित अधिकांश कैलाली, सल्यान, दाङ, बैतडी लगायतका युवायुवती रहेको डिएसपी श्रेष्ठले बताए। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
पूर्वी नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी जान लागेका उनीहरूलाई शंका लागेर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो। ‘मानव तस्करले भारतमा बेच्न लागेको आशंका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिए पनि औषधिको नेटवर्किङ व्यवसायमा संलग्न भएको पछि खुलेको हो’, उनले भने। तीनदिन अघि मात्र प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ फोहोर मैला भन्ने स्थानबाट अन्दाजी पाँच लाख मूल्य बराबरको ओरियन्ट्स कम्पनीको आयुर्वेदिक औषधि बरामद गरेको थियो।
अवैध रूपमा नेपाल भित्र्याइएको ओरियन्ट्स कम्पनी लेखिएको विभिन्न किसिमका दुई कार्टुन औषधि बरामद गरी आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर पठाएको थियो।
प्रतिक्रिया