श्रीकृष्णलाई सम्झन छुट दिनेसँग विवाह गर्छु : अभिनेत्री श्वेता खड्का



अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो ।

त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी छिन् । श्वेतासँग उनको अबको जीवनबारे नयाँ पत्रिकाका नवीन प्यासीले सोधखोज गरेका छन् :

तपाईंसँग अझै लामो जीवन बाँकी छ । अबको यात्रा कसरी गर्नुहुन्छ ?
म आजका लागि बाँच्छु । आज जसरी पनि खुसी हुने प्रयत्न गर्छु । भोलि के हुन्छ, सोच्दै सोच्दिनँ । अरूले के भन्छ, सोच्छ पनि ख्याल गर्दिनँ । उहाँ (श्रीकृष्ण श्रेष्ठ)ले मलाई यसरी अधुरो बाटोमा छाडेर जानुहुन्छ भनेर कसरी थाहा हुन्छ ? श्रीकृष्ण श्रेष्ठसँग विवाह हुन्छ भनेर पनि थाहा थिएन नि । एक महिनामा फिक्स भएर विवाह भयो । इन्टरकास्ट, उमेरको ग्यापलगायत हरेक कुराले हाम्रो विवाह नहुनुपथ्र्यो । तर, भयो । भोलिको कुरा कसलाई के थाहा ?

हिजोको जीवन त सकियो । अबको दिनमा त नयाँ सपना र सोच चाहियो नि, होइन ?
पहिलाको श्वेता त उहाँले छाडेर गएको दिन नै जलेर मरिसकी । म अर्को श्वेता जन्मेकी हो । अहिले नयाँ जे पनि सोच्न सक्छु । मेरो जीवनमा जे पनि हुन सक्छ । पहिलाको जिन्दगीको त्यो गाडी, त्यो लुकिङ मिरर हेर्न छाडिसकेँ, जुन बाटोमा मेरा पछाडिका घटना देखिन्छन् । त्यही भएर म फ्रेस श्वेता हो । मैले फिल्म पनि बनाएँ र दर्शकको मन जितेँ । बस्ती पनि बनाउँदै छु । जे गर्दै छु, नयाँ गर्दै छु ।

तर, हामी त यादहरूमा बाँच्छौँ । फ्रेस श्वेताले विगतलाई कसरी सन्तुलनमा राख्लिन् ?
नसुक्ने घाउ, नमेटिने दाग त जीवनमा कति हुन्छन् कति । मेरो विवाह भएको दिन २३ असार हो । उहाँलाई खुबै मिस गरेँ । त्यो पल जुन दिन आउँछ, गाह्रो हुन्छ । कसैले उहाँको कुरा गरिदियो भने पनि एकदम गाह्रो हुन्छ । मैले बिर्सिएकी छैन । तर, अब बिर्सिएकी छैन भनेर अगाडि नबढ्ने कुरा पनि त हुन्न ।

यदि मेरो विवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु ।

सम्बन्धित समाचार