संखुवासभाः संघ भन्दा प्रदेशको विकास खर्च न्युन




सङ्खुवासभा । आर्थिक बर्ष २०७५/७६ मा संखुवासभामा संघको तुलनामा प्रदेशबाट आएको विकास बजेट खर्च न्युन छ । संघबाट प्राप्त पुजीगत तर्फ ८० प्रतिशत भन्दा बढी खर्च भएको छ भने प्रदेशबाट प्राप्त बजेट ५० प्रतिशत मात्र खर्च भएको हो ।

गत आर्थिक बर्षमा पुँजीगत तर्फ संघबाट एक अर्ब २१ करोड ४० लाख ३६ हजार रुपैयाँ प्राप्त भएको थियो । त्यस मध्ये ९८ करोड ६० लाख २३ हजार ४ सय ३९ रुपैयाँ खर्च भएको छ । उक्त खर्च ८१ प्रतिशत हुन आउछ । प्रदेश एक सरकारबाट पनि एक अर्ब १३ करोड ४६ लाख ४२ हजार रुपैयाँ प्राप्त भएको थियो । त्यस मध्ये ५६ करोड ९८ लाख ९६ हजार ८७ रुपैयाँ मात्र खर्च भएको छ । उक्त खर्च प्रतिशत ५० मात्र हो ।

चालु खर्च तर्फ भने संघ भन्दा प्रदेश सरकारको खर्च अनुपात बढि छ । संघले सङ्खुवासभालाई ३ अर्ब ८५ करोड ८९ लाख ४६ हजार २ सय ३६ रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये ३ अर्व ४६ करोड १५ लाख ४७ हजार ६ सय ८४ रुपैयाँ खर्च भएको छ । यो खर्च रकम ८९ प्रतिशत हो । प्रदेश सरकारले २२ करोड ९५ लाख ४५ हजार २ सय ६० रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटबाट १८ करोड ९३ लाख ७० हजार २ सय ३० रुपैयाँ खर्च भएको छ । उक्त खर्च ८२ प्रतिशत हो ।

गत आर्थिक बर्षमा प्रदेश स्तरिय कार्यालयहरु ढिलो स्थापना भएको र ढिलो बजेट आएकोले खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सङ्खुवासभाका प्रमुख कोष नियन्त्रक प्रकाश भट्टराईले जानकारी दिनुभयो । प्रदेशबाट आएको बजेट अन्तिम चौमासिक तिरमा मात्र आएकोले प्रकृया पुरा गरेर काम गर्ने अवस्था नरहेकोले खर्च हुन नसकेको उहाँले जानकारी दिनुभयो । आगामी बर्षहरुमा भने यस्तो नहुने उहाँले दावी गर्नुभयो ।

स्थानीय तहबाट १२ करोड बढि बजेट फिर्ता

गत आर्थिक बर्षमा सङ्खुवासभाका दश स्थानीय तहहरुबाट १२ करोड रुपैयाँ भन्दा बढी संघमा फर्किएको छ । संघबाट प्राप्त भएको सशर्त अनुदान तर्फको बजेटबाट काम गर्न नसकिएपछि उक्त रकम फिर्ता भएको हो ।

गत आर्थिक बर्षमा दश स्थानीय तहहरुलाई एक अर्व ४० करोड एक लाख चार हजार रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये १ अर्ब २७ करोड ८७ लाख ५८ हजार ३ सय ४ रुपैयाँ खर्च भएको छ । खर्च हुन नसकेको १२ करोड १३ लाख ४५ हजार ६ सय ९६ रुपैयाँ संघमा फर्किएको हो । काम गर्न नसके पछि सिलिचोङ गाउँपालिकाले २ करोड १२ लाख ५६ हजार ९५ रुपैयाँ फर्काएको हो । सशर्त अनुदानमा सिलिचोङले १० करोड ५६ लाख ८२ हजार रुपैयाँ प्राप्त गरेको थियो । उक्त बजेटबाट ८ करोड ४४ लाख २५ हजार ९ सय पाँच रुपैयाँ खर्च गरेको थियो । खर्च हुन नसकेको बाँकी रकम संघमा फिर्ता भएको हो ।

धेरै काम गरेर कम बजेट फर्काउनेमा मकालु गाउँपालिका अग्र पंतिमा रहेको छ । मकालुले १६ लाख ७४ हजार मात्र फिर्ता गरेको हो । मकालुलाई १९ करोड २५ लाख ७४ हजार विनियोजित गरिएको थियो । त्यस बजेटबाट १९ करोड ९ लाख रुपैयाँ खर्च भएको हो ।

सम्बन्धित समाचार