उदयपुरका चार नगरपालिमा डेंगुका विरामी बढ्दै



उदयपुर।  पछिल्लो समय उदयपुरको भित्री मधेसमा पर्ने चारै नगरपालिमा डेंगुका विरामी बढ्दै गएका छन्। जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिकामा दुई जनाबाट सुरु भएको डेंगुले एक दर्जनभन्दा बढी विरामी परेका छन्। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले कटारी नगरपालिकामा १४ जना, बेलका नगरपालिका ५ मा ४ जना, त्रियुगा नपा १२ मा १ जना, चौदण्डीगढी विपिचौकमा १ जना विरामी रहेको बताए।

‘जिल्लाको भित्री मधेसका क्षेत्रमा डेंगुका विरामी बढ्दै गएका छन’, उनले भने, ‘विरामी परेका मध्ये अधिकांशलाई उपचारको लागि धरान र बिराटनगर पठाइएको छ।’ प्रमुख खकुरेलले स्थानीय तहदेखि मातहतका अस्पताल, स्वास्थ्य केन्द्र र माथिल्लो निकाय प्रदेश र विभागलाईसमेत जानकारी गराइसकेको बताए। जिल्लाका ४ वटा नगरपालिकामा विरामी देखापरेपछि सम्भावित हुने महामारीलाई नियन्त्रणका लागि प्रयास जारी रहेको उनले बताए। कटारी नगरपालिमा दुई जना विरामीमा डेंगु एन्टिजन पोजेटिभ फेला परेको कटारी अस्पताल प्रमुख डा.पवन शाहले बताए। ‘

एक सातादेखि लगातार ज्वरो आएर अस्पतालमा उपचार गर्न आएका कटारी नगरपालिका ३ की निलम खड्का र चित्रबहादुर दाहाललाई डेंगु एन्टिजन पोजेटिभ फेला छ,’ उनले भने, ‘विरामीमा ज्वरो नघटेपछि जीवनज्योति प्याथोलोजीमा रगत परीक्षणगर्दा डेंगु एन्टिजन पोजेटिभ देखिएको हो।’ वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुचि नहुने जस्ता लक्षण देखिने उनले बताए। ‘पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालय र सबै स्थानीयबीच समन्वय भइरहेको छ’ उनले भने। पोथी लामखुट्टेले सफा पानीमा अण्डा पारेर बच्चा निकाल्ने बेलामा मान्छेलाई टोकेपछि बिरामी हुने चिकित्सकको भनाई छ।

लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुरा जस्ता फोका आउने, लिभर पुल्ने र पेटमा पानी जम्ने र गिजाबाट रगत आउने, शरीर दुख्ने लक्षण विरामीमा देखा परेको चिकित्सकको भनाइ छ। प्लाष्टिकको पानी जार, प्लाष्टिकको गमला, सफा पानीमा मात्र यो जातको पोथी लामखुट्टे बस्ने भएकाले घरवरपर पानी जम्न दिनु नहुने चिकित्सकले सुझाव दिएका छन। डेंगु भाइरस डेन वान, डेन टु, डेन थ्री र डेन फोर गरी चार प्रकारका हुने गरेको छ। डेंगु देखापरेपछि स्थानीय महामारीको रुप लिने खतरा बढेको भन्दै त्रसित बनेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ।

सम्बन्धित समाचार