बहुविवाहका आरोपित गौमुखी गाउँपालिका अध्यक्ष रिहा



प्यूठान । बहुविवाह गरेको आरोपमा प्रहरी हिरासतमा रहेका गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी आइतबार रिहा भएका छन् ।

बहुविवाह गरेको प्रमाण नपुगेको भन्दै उनलाई रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय प्यूठानका निमित्त जिल्ला न्यायधिवक्ता शिव प्रसाद आचार्यले जानकारी दिए ।

‘संकलित प्रमाणहरुबाट बहुविवाह गरेको देखिएन । हाजिरी जमानीमा रिहा हुनुभएको छ,’ उनले भने । मुद्दाको अन्तिम टुंगो महान्याधिवक्ताको कार्यालयले लगाउनेछ । जिल्लाले गरेको निर्णयमा महान्याधिवक्ताको कार्यालयलाई चित्त नबुझे पुनः मुद्दा चल्नेछ ।

गिरी विरुद्ध लागेको मुद्दा उच्च सरकारी वकिल कार्यालयले चेकजाँच गरेपछि महान्यायधिवक्ताको कार्यालयमा पुग्छ । कानुनतः सामाजिक संस्कार अनुसार विवाह गरेको वा श्रीमान् श्रीमती भएर सँगै बसेको भएमा मात्र विवाहको मान्यता दिइने आचार्यले बताए । विगत दश वर्षदेखि गिरी श्रीमतीबाट अलग बस्दैआएका छन् । उनकी श्रीमती दुई छोरीसँगै विजुवारमा डेरामा बस्छिन् । गिरी नेपाली कांग्रेसका जिल्ला सचिव समेत हुन् ।

सम्बन्धित समाचार