सङ्खुवासभा, असोज ३ गते । गत मंगलबार सङ्खुवासभाको अक्कर भिरबाट अरुण नदिमा खसेर वेपत्ता भईरहेकाहरुलाई गोताखोर टोलीले दुई दिनसम्म खोज्दा पनि भेट्न सकेका छैनन् । चितवनबाट आएका चार सदसिय टोलीले विहिबार र शुक्रबार खोज्दा पनि नभेटिएको हो ।
हेलीकप्टरबाट तुम्लिङटार झरेर घटनास्थल पुगेका उनीहरुले विहिबार साँझसम्म खोजेका थिए । विहिबार खोज्दा पनि नभेटेका उनीहरुले शुक्रबार विहानैबाट खोज्ने काम गरेका थिए । यसरी दुई दिनसम्म खोज्दा पनि गोताखोर टोलीले नदिमा हराईरहेकाहरुलाई भेट्न नसकेका हुन् । शुक्रबार दिउँसो घटनास्थलमा पानी परेकोले खोज्न जोखिमपुर्ण भएपछि खोजी कार्य बन्द गरिएको थियो । पानी परेपछि अरुण नदिमा बहाब बढ्ने भएकोले दिउँसो ३ बजेदेखि खोजी कार्य बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अरुण नदि अत्याधिक धमिलो भएकोले पानी भित्र भिजिविलिटी कम हुँदा खोज्न अप्ठयारो भएको खोजी कार्यमा संलग्नहरुले जनाएका छन् । पानी भित्र केही नदेखिएपछि छामेर खोज्नु परेकोले सफलता प्राप्त हुन नसकेको गोताखोर टोलीका हवल्दार बलराम अधिकारीले जानकारी दिनुभयो । केही पानीको सतहसम्म पुगेर खोजिएको भएपनि केही ठाउँमा पुग्न नसकिएको हवल्दार अधिकारीले जानकारी दिनुभयो । जीप खसेको स्थान निक्कै गहिरो र लेदोले पुरिएको भएकोले पनि अप्ठ्यारो भएको उहाँले जानकारी दिनुभयो । त्यस ठाउँमा पानीको बहाव तिब्र गति घुम्ने भएकोले पनि खोज्न अप्ठ्यारो भएको उहाँको दावी छ । ‘बेगमा आउने पानीको घुम्ने बहाबले बगाएर पल्लो छेउसम्म जान सकिएको छैन, त्यस ठाउँमा पुगे केही सफलता प्राप्त हुन्थ्यो की’, हवल्दार अधिकारीले भन्नुभयो ।
घटना स्थलमा पानी नपरे भोली विहानैबाट खोजी कार्य जारी राख्ने प्रमु जिल्ला अधिकारी जीवन प्रसाद दुलालले जानकारी दिनुभयो । अहिलेसम्म चुम्बक प्रयोग गरेर हराएको जीपको खोजी गरिएपनि पत्ता लाग्न नसकेको उहाँले स्पष्ट पार्नुभयो । भोली अझ ठुलो चुम्बक प्रयोग गरेर नदिमा डुवेको जीपको खोजी गर्ने योजना रहेको उहाँले बताउनुभयो । अहिलेसम्म केही उपलब्धी नभएपनि वेपत्ताहरुलाई नभेटेसम्म खोजी कार्य जारी राखिने प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनुभयो ।
दुर्घटनामा परि वेपत्ता हुनेहरुमा खाँदबारी ९ का सवारी चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ कै २२ बर्षिय प्रमेश थापा मगर र उनको भिनाजु खोटाङका २७ बर्षिय खबरमान पिठाकोटे रहेका छन् । त्यस्तै, खाँदबारी ९ कै २४ बर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ बर्षीय सदिक्षा राई श्रेष्ठ र उनीहरुका २ महिनाका छोरा समिर श्रेष्ठ रहेका छन् । निमोनियाको बिरामी बच्चाको उपचार खाँदबारी अस्पतालमा हुन नसकेपछि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।
प्रतिक्रिया