काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र न्युरोड आसपास आतंक मच्चाएको एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ। घटना मंगलबार बिहान करिब साढे ६ बजेको हो।
महानगरीय प्रहरी जनसेवा वृत्तका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले राँगोलाई नियन्त्रणमा लिने प्रयास असफल भएपछि ‘गोली हानेर कारबाही गर्नुपरेको’ बताए। ‘स्थानीयहरूले बताएअनुसार राति १२/१ बजेतिर सडकमा निस्किएको बुझियो’, डीएसपी खतिवडाले भने, ‘कहाँबाट निस्कियो थाहा छैन तर कालिमाटीतिरबाट निस्किएको अनुमान गरेका छौँ।’
काठमाडौंको लगन हुँदै न्युरोडतिर बढेको राँगोले एकाबिहानै सडकमा मानिसहरूलाई हान्न थालेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। राँगोको आक्रमणबाट तीनजना घाइते छन्। खतिवडाका अनुसार उनीहरूको अवस्था सामान्य छ। राँगोले एउटा ट्याक्सीमा पनि क्षति पुर्याएको छ।
‘सकेसम्म नियन्त्रणमा लिने प्रयास गरेका हौँ तर सकिएन। नागरिकको जिउधनको सुरक्षामा खतरा हुने भएपछि कुनामा बल्क गर्दै लगेर गोली हान्नुपर्यो’, खतिवडाले भने।
मारिएको राँगो काठमाडौं महानगरपालिकालाई बुझाइएको उनले बताए। न्युरोड खिचापोखरीबाट पूर्वतर्फ छेक्दै लगेर गोली हानिएको हो। राँगो मार्न प्रहरीले पाँच पटक फायर गरेको थियो।
डीएसपी खतिवडाले तराईबाट गाडीमा हालेर ल्याएको राँगो झार्नेक्रममा वा बधशालाबाटै उम्किएर भागेको हुन सक्ने बताए। ‘
प्रतिक्रिया