आदिवासी सन्थालको लोपोन्मुख नृत्य प्रस्तुत



झापा ।  पूर्वी नेपालका आदिवासी जनजाति सन्थाल जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले झापाको गौरादहमा सन्थाल नृत्य प्रतियोगिता आयोजना गरिएको छ। दशैँको समापनका अवसरमा लाग्ने पूर्णिमा मेलामा नृत्य प्रतियोगिता समेत गरिएको हो। 

गौरादह बजार व्यवस्थापन समितिले आयोजना भएको मेलामा विभिन्न जातजातिका संस्कृति झल्कने भेषभुषामा सजिएर बाजागाजा सहित नृत्य प्रस्तुत गरेका थिए। सन्थाल नृत्यमा प्रथम कोरोबारी जियोङ झरना युवा क्लब गौरीगञ्ज गाउँपालिका–२, द्वितिय सन्थाल युवा क्लब कमल गाउँपालिका–१, तृतीय सन्थाली चम्पावाहा सांस्कृतिक टोली मोरङ र सान्त्वना भाकुरमारी महिला समूह गौरीगञ्ज गाउँपालिका–२ का टोली भएका छन्। विजेता टोलीहरुलाई क्रमशः २१ हजार, १५ हजार, ११ हजार र नौ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

झापा र मोरङमा रहेका आदिवासी सन्थाल समुदायको संस्कृति आधुनिकता र विपन्नताका कारण संकटमा पर्दै आएको छ। बिपन्नताकै कारण सांस्कृतिक बाजा र भेषभूषा समेत किन्न नसक्दा दशैंका बेला देखाइने नाच समेत संकटमा परेको गौरादह–१ का गैदार मुर्मुले बताए।

सम्बन्धित समाचार