नक्कली कागज बनाएर मिर्गौला लिएपछि डाक्टरसहित पाँच जना पक्राउ



काठमाडौं । निदान अस्पताल, पुल्चोकमा साउन तेस्रो साता गैरकानूनी ढंगले मिर्गौला प्रत्यारोपण भएको गाइँगुइँ चल्यो । अस्तपालका केही नर्सले पनि लिने दिनेको सम्बन्ध ‘शंकास्पद’ भएको प्रशासनलाई जानकारी गरायो ।

तर प्रशासनले त्यसलाई सुनेको नसुने झै गर्‍यो । नेपाल प्रहरीको अनुसन्धानले नक्कली कागज बनाएर मिर्गौला लिएको खुल्यो र, अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ), डाक्टरसहित पाँच जना पक्राउ परेका छन् ।

‘पर्याप्त प्रमाण भेटिएपछि बुधबार ५ जनालाई पक्राउ गरेका छौं’, मानव बेचबिखन अनुसन्धान ब्युरोका उपरीक्षक (एसपी) गोविन्द थपलिया भन्छन् ।

पक्राउ पर्नेमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधान, कानूनी अधिकृत (लिगल अफिसर) कुमुदकुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले छन् ।

त्यस्तै, मिर्गौला प्रत्यारोपण गरिएका शंकरलाल लामा (योञ्जन) पनि पक्राउ परेका छन् ।

सम्बन्धित समाचार