छोराको हत्यारालाई कानूनी कारवाही नभएसम्म काजकिरिया नगर्ने



रौतहट । छोराको हत्यारालाई कानूनी कारवाही नभएसम्म काजकिरिया नगर्ने प्रण गरेका थिए, श्रीनारायण सिंहले । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटमा छोरा मारिएको शोकमा उनले गरेको यो प्रण अब पूरा हुने आशा पलाएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा सबै प्रचारमा जुटेका थिए । सिंहका जेठा छोरा त्रिलोकप्रतापको बोल्ने शैलीले प्रभाव पार्छ भनेर नेपाली काग्रेसका कार्यकर्ता शेख भदई १८ चैतमा घरमै आएर राजपुर लगेका थिए । आफ्नो २४ वर्षका छोरा निर्वाचनमा बुथ कब्जा गर्न कांग्रेसका उम्मेदवार मोहम्मद आफताब आलमले बनाउन लगाइरहेको बमको शिकार बनेको श्रीनारायण सिंह बताउँछन् ।

राजपुरको विस्फोटको आवाज वरपरको गाउँहरुमा पनि सुनिएको उनले बताए । उनका अनुसार, बम बनाउँदै गरेको घर बाहिर रहेका त्रिलोक विस्फोटमा घाइते भएर घर फर्कन खोज्दा आलमका कार्यकर्ताहरुले उपचार गर्न भन्दै रोकेर राखेका थिए । ‘मेरो छोरा घाइते मात्र भएको थियो, मरेको थिएन’, ७९ वर्षीय सिंह भन्छन्, ‘विस्फोटको घटना लुकाउन उसलाई उपचार गर्ने बाहनामा बेहोस बनाएर भट्टामा हालेर ज्युँदै पोले ।’

त्रिलोकसँगै अर्का घाईते ओशी अख्तरलाई भट्टामा हालेर पोलिएको उनी बताउँछन् । उनका अनुसार, छोरा घाइते भएको सुनेर खोज्दै गएकी आमा रुक्साना खातुनले भट्टाबाहिर अख्तरको जुत्तामात्र भेटेकी थिइन् । आफ्ना छोराहरुको हत्या भएको प्रहरी गुहार्न पुगेका सिंह र खातुनको निवेदन प्रहरीले दर्ता गर्न नमानेपछि उनीहरु पछि सर्वोच्च अदालतसम्म पुगेका थिए ।

त्यो जघन्य अपराध भएको १२ वर्षपछि रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलम गत आइतबार पक्राउ परेका छन् । घटनामा संलग्न भनिएका अन्य चार फरार छन् ।

सम्बन्धित समाचार