महरालाई मुटुमा गम्भीर समस्या



काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ ।

१० दिनअघि उच्च रक्तचापका कारण नर्भिक अस्पताल भर्ना गरिएका महराको स्वास्थ्यमा समस्या भएपछि थप उपचार थालिएको हो ।

उनलाई जनरल वार्डवाट सीसीयू कक्षमा भर्ना गरेर एन्जिओग्राम गरिएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ । महराको मुटुको देब्रेपट्टि केही समस्य देखिएकाले थप उपचार र परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।

असोज १२ गते राती संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेसँगै उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंले जबरजस्ती करणी उद्योगमा अनुसन्धान थालेको छ ।

शाहीलाई बलात्कार प्रयासमा पक्राउ गरेकै दिनदेखि महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

दसैं विदाकै क्रममा पक्राउ परेका महरालाई नौ दिनपछि सरकारी वकिलको कार्यालयमा उपस्थित गराएपनि स्वास्थ्यको कारण देखाउँदै महराले बयान दिन इन्कार गरेको बताइएको छ । पक्राउ परेको २ साता बितिसक्दा पनि बयान लिन नसकेपछि प्रहरीको आलोचना हुन थालेको छ ।

सम्बन्धित समाचार