दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय बच्चाको उपचार नेपालमै सफल



काठमाडौँ ।जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसङ्ग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् ।

भर्खरै जन्मिएकादेखि १६ वर्षमुनिका बच्चाका मुत्रासय, मलद्वार, आन्द्रा, जिब्रोको ट्युमर, आन्द्रामा रौँ छिरेको र  नसामा हुने विभिन्न जटिल समस्याको उपचार सहज भने छैन । शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्नु चुनौतीपूर्ण हुन्छ । सन् २०१७ मा बङ्गलादेशको बङ्गबन्धु शेख मोजिम मेडिकल विश्वविद्यालयबाट बालरोग सर्जरीमा एमएस गरेका डा कोइरालाकामा हाल यस्ता बिरामी बच्चाको चाप देखिन्छ । उहाँ शिक्षण अस्पतालका साथै काठमाडौँ न्यूरो तथा जनरल अस्पताल र हेम्स अस्पतालमा समेत कन्सल्ट्यान्ट हुनुहुन्छ ।

उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा चिकित्सक टोली तम्तयार भए पनि जन्मजात छाति जोडिएका जुम्ल्याहा बच्चाको सुर्खेतबाट काठमाडौँ ल्याउँदा बाटोमै मृत्यु भएको छ महीनाअघिको एक घटना सम्झँदै डा कोइराला भन्नहुन्छ, “नेपालमा सुलभ मूल्यमै यस्तो उपचार हुनसक्छ भन्ने थाहा नपाएर अभिभावकले बच्चालाई अस्पताल नल्याउँदा ज्यान जोखिममा परेका घटना छन्, तर हामी उपचार गर्न सक्छौँ ।”

चिकित्सक डा कोइरालाकै नेतृत्वमा जन्मँदै मेरुदण्डको नसा फुटेका ओखलढुङ्गाका मेघबहादुर मगरका चार दिनका बालकको शल्यक्रिया सफल भएपछि अभिभावक दङ्ग छन् । ‘माइलोमेनिङ्गोसिल इन्फेक्सन’का कारण उत्पन्न यो समस्याको समाधान भएपछि अब बच्चालाई दूध खुवाउन र दिसापिसाब गराउन कुनै समस्या छैन ।

सुन्धारास्थित काठमाडौँ न्यूरो तथा जनरल अस्पतालमा उपचाररत १५ वर्षीया बालिकाको जन्मजात पिसाब चुहिने समस्या (इक्टोपिक युरेटर) को पनि सात दिनअघि शल्यक्रिया सफल भएको छ । सात दिनअघि ती बालिकाको पिसाबको नली काटेर पुनः व्यवस्थापन गरिएको थियो । सोही अस्पतालमा दोलखाका सोमी तामाङका २१ दिनका छोराको एउटा अण्डकोष ठूलो भएको (अब्स्ट्रक्टेड हर्निया) को शल्यक्रिया सफल भएको छ

सम्बन्धित समाचार