ओखलढुंगा जिल्ला अस्पतालमा जनशक्ति र उपकरण अभाव थलिँदै



ओखलढुंगा। ओखलढुंगा जिल्ला अस्पताल जनशक्ति र उपकरण अभावले थलिँदै गएको छ। आवश्यक जनशक्ति र प्राविधिक उपकरण नहुँदा सामान्य चेकजाँच र औषधि वितरणको सेवा मात्र उपलब्ध छ। गम्भीर प्रकृतिका रोग पहिचान तथा शल्यक्रिया गर्न विशेषज्ञ चिकित्सक छैनन्।

भएका चिकित्सकका लागि आवश्यक उपकरण पनि छैनन्। १५ शै्याको अस्पतालमा दैनिक वेड भर्नाका लागि ५ भन्दा पनि कम बिरामी आउँछन्। आएका बिरामीको पनि उपचार नहुँदा जिल्ला बाहिर जान बाध्य भएको स्थानीय बताउँछन्।

दुर्घटनाका गम्भीर घाइते, शल्यक्रिया गर्नुपर्ने र परीक्षण गरेर रोग पत्ता लगाउनुपर्ने बिरामी महँगो खर्चेर काठमाडौं धाउन बाध्य छन्। विशेषज्ञ डाक्टर र उपकरण अभावको कारण देखाउँदै अस्पतालले आकस्मिक उपचारमा आउने बिरामी रिफर गर्दै आएको छ। २०६६ सालमा स्थापना भएको यो अस्पतालले अझैं अपरेसन थिएटर सञ्चालनमा ल्याउन सकेको छैन। भवन अभाव भएकाले अप्रेसन थियर सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ। आवश्यकता अनुसार जनशक्ति नभएको र भएकाको लागि पनि उपचार गर्न उपकरण नहुँदा रेफर गर्नु बाध्यता रहेको अस्पतालका प्रमुख डा. मुकुन्दप्रसाद यादवले बताए।

युनाइटेड मिसन टु नेपालद्वारा सिद्धिचरण नगरपालिका–११ स्थित सोब्रुमा सञ्चालित ५० शै्याको क्षमताको ओखलढुंगा सामुदायिक अस्पतालको हालत पनि उस्तै छ। विशेषज्ञ चिकित्सक र उपकरण अभाव देखाउँदै यो अस्पतालले पनि आकस्मिक बिरामीहरुलाई विराटनगर, काठमाडौं लगायतका अस्पतालमा रेफर गर्दै आएको छ।

सम्बन्धित समाचार