चिचिला गाउँपालिकाले बाँड्यो झण्डै दुई सय विद्यार्थीलाई झोला




खाँदबारी । शिक्षाको क्षेत्रमा पर्याप्त लगानी गर्दै आएको चिचिला गाउँपालिकाले अनाथ तथा असहाय वालबालिकाहरुलाई स्कुल झोला वितरण गरेको छ । आज गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा एक लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेर विद्यार्थीहरुलाई झोला प्रदान गरिएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो । आगामी बर्षहरुमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने समेत उहाँले जानकरी दिनुभयो ।

यसै विच, चिचिला गाउँपालिकाले यस शैक्षिक बर्षमा एसईई पास गरि विज्ञान विषय पढ्ने ४ विद्यार्थीलाई शतप्रतिशत छात्रबृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययन गरेर कक्षा ११ मा विज्ञान विषय पढ्ने विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गरिने अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो ।

अन्य विषयमा अध्ययन गरेकोहरु गाउँपालिकामा पर्याप्त भएपनि विज्ञान विषय लिएर पढ्नेहरुको संख्या तुलनात्मक रुपमा न्युन भएकोले प्रोत्साहन गर्न छात्रबृत्तिको ब्यवस्था गरिएको हो । विज्ञान विषय अन्य प्राविधिक तथा चिकित्सा क्षेत्र पढ्नको लागि पनि जग भएकोले त्यस तर्फ प्रोत्साहन गर्नको लागि पनि छात्रबृत्तिको ब्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार