सङ्खुवासभा, पुष ५ गते । फलामे ढोकाको रुपमा मानिएको एसईई परिक्षा आउनै लाग्दा सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा माध्यमिक तहमा मुख्य विषयका शिक्षकहरु नै छैनन् । गाउँपालिकामा रहेको माध्यमिक तहमा विज्ञान विषयका शिक्षकहरु छैनन् ।
यो यस बर्षको मात्र समस्या होईन, बर्षौदेखि यहाँका माध्यमिक तहका विद्यार्थीहरु निम्न माध्यमिक तहका शिक्षकहरुकै भरमा एसईई परिक्षा दिदै आएका छन् । कत्तिपय विद्यालयहरुले शिक्षक पदपुर्तीको विज्ञापन गरेपनि आवेदन दिन नआउने र आईहालेपनि छोटो समयमा नै छाड्ने हुँदा विद्यालय रित्तो हुँदै आएको हो । यसरी दक्ष र योग्यता प्राप्त शिक्षकले अध्यापन नगर्दा शिक्षाको गुणस्तर खस्कदो छ । यस अघिको एसएलसी हुँदै पछिल्लो समयको एसईईको नतिजा हेर्दा राम्रो प्राप्ताङ्क भएको विद्यार्थीहरु अति न्युन छ ।
गाउँपालिका भरि नै योग्य शिक्षक नहुँदा आधारभुत विद्यालय (निमा) तहकै शिक्षकले माध्यमिक तहका विद्यार्थीहरुलाई पढाउन बाध्यता रहेको गाउँपालिकाका शिक्षा शाखा संयोजक बुद्धिकुमार कुलुङ पनि स्वीकार्नुहुन्छ । केही विद्यालयका लागि पटक पटक विज्ञान विषयको विज्ञापन खुलाएपनि कसैले आवेदन नदिएको कुलुङको भनाई छ । गाउँपालिकाको केन्द्र ताम्कुमा रहेको सगरमाथा माध्यमिक विद्यालयमा समेत विज्ञान शिक्षक छैन । यस अघि दुई पटकसम्म विज्ञापन खुलाउदा समेत कसैले आवेदन नदिएको विद्यालयका प्रधानाध्यापक नरबुङ राईले जानकारी दिनुभयो ।
सिलिचोङ गाउँपालिकाको वडा नम्बरर १ सिसुवाखोलाको कालिका माध्यमिक विद्यालयमा शैक्षिक बर्ष सुरुभएदेखि नै माध्यमिक तहको विज्ञान शिक्षक छैन । यहाँ गणित विषयको माध्यमिक तहको शिक्षक समेत नहुँदा निम्न माध्यमिक तहको शिक्षकले माध्यमिक तहलाई धान्दै आएको छ । यता वडा नम्बर २ बालाको बाला याम्दाङ माध्यमिक विद्यालयमा पनि गणित र विज्ञान विषयको शिक्षक छैन । अर्को बाला माध्यमिक विद्यालयमा भने तीन महिना अघि विज्ञान शिक्षकको पदपुर्ती गरिएको थियो । वडा नम्बर ४ मांतेवाको जीवनज्योति माध्यमिक विद्यालयमा मावि तहको विज्ञान विषयको शिक्षक नभएको बर्षौ भयो । यहाँका विद्यार्थीहरु आईएस्सी शिक्षकले पढाएकै भरमा कक्षा ९ र १० सगैंको एसईई दिदै आएका छन् । वडा नम्बर ५ याफुको महेश्वरी माविका विद्यार्थीहरुले पनि बिएस्सी शिक्षकले नपढाएको बर्षौ भयो । माध्यमिक तहको मुख्य विषयको शिक्षकको ब्यवस्था नहुँदा विद्यार्थीहरुले मार खेप्दै आएका छन् ।
शिक्षण अनुमती पत्र भएका माध्यमिक तहका शिक्षकहरुको संख्या नै कम रहेको र भएकाहरु पनि दुर्गममा जान नचाहेको कारण उक्त विद्यालयहरुमा माध्यमिक तहको शिक्षकहरुको अभाव भएको जिल्ला शिक्षा समन्वय ईकाई सङ्खुवासभाका प्रमुख केशव भट्टराईको भनाई छ । सामुदायिक विद्यालयमा शिक्षण गर्नको लागि शिक्षण अनुमती पत्र अनिबार्य भएकोले विज्ञान विषयको शिक्षक ब्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो । योग्यता पुगेकाहरुलाई आकर्षित गरेर विद्यालयमा टिकाउनको लागि स्थानीय सरकारले थप ब्यवस्था गर्न सके यो समस्या केही हद्सम्म समाधान हुने भट्टराईको सुझाव छ ।
प्रतिक्रिया