लक डाउनले नछोएको खाँदबारीको ढाका ब्यावसाय (भिडियो सहित)




खाँदबारी । चिचिला गाउँपालिका २ का लक्ष्मी राई र डोमा शेर्पाले जिल्लाको सदरमुकाम खाँदबारीमा ढाका कपडा बुन्न थालेको करिव ५ महिना भयो । लक डाउन हुनु अघि नै सुरु गरेको ढाका बुनाईलाई लक डाउनले कुनै असर गरेको छैन ।

एउटा सानो ढोका खुल्ला राखेर घर भित्रै दुई जनाले विहानदेखि साँझसम्म नै ढाका बुन्छन् । अहिले साधा बुट्टा भए एक मिटरसम्म र बुट्टेदार भए त्यो भन्दा कम बुन्छन् । यसरी बुनिएको ढाकाको मुल्य प्रति मिटर कम्तिमा १२ सय रुपैयाँसम्म पर्छ । बुट्टेदार ढाकाको मुल्य त्यो भन्दा पनि बढी पर्छ । तीन वटा सटल (ढाका बुन्ने सेट) राखेर ढाका बुन्दै आएका राई र शेर्पाले आफुहरु सन्तुष्ट रहको बताउनुहन्छ । सटरको भाडा तिरेर पनि आफुहरुलाई पुग्दो आमदामी रहेको उहाँहरु बताउनुहुन्छ ।

राई र शेर्पाले उद्योग नै दर्ता ढाका बुनाईको काम सुरु गरेका हुन् । सयपत्री ढाका उद्योग दर्ता गर्नुभएका उहाँहरुले तीन बर्ष अघि घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाबाट तालिम लिएका थिए । उहाँहरुले तालिम दिएपछि घरमै ढाका बुन्दै आउनुभएको थियो । बुनिसकेको ढाका विक्रि नहोलाकी भन्ने कुनै चिन्ता नरहेको ढाका बुन्दै आएनुभएको लक्ष्मि राई बताउनुहुन्छ । ‘विक्रि नहुने त कुरै छैन, माग पुरा गर्नै गाह्रो छ’, राईले भन्नुभयो । अल्लोको कपडा जस्तो लागत बढी नलाग्ने भएकोले ढाका बुनाईबाट सन्तुष्ट हुन सकिने अर्का बुनाकार डोमा शेर्पाले बताउनुभयो ।

खाँदबारीमा सटर भाडामा लिएर ढाका बुनाईको काम थालेका शेर्पा र राईले लक डाउनको बेला यस्तै घर भित्र गर्न सकिने ब्यावसाय गर्न सुझाव दिन्छन् । सानै कोठामा अरु मानिसहरुको सम्पर्क बिना नै ढाका बुन्न सकिने भएकोले लक डाउनको सदुपयोग गर्न सकिने उहाँहरुको सुझाव छ । घर भित्रै बुन्न सकिने भएकोले घामपानीको चिन्ता समेत नहुने ढाका बुनाकार शेर्पाको भनाई छ । सटल राख्नको लागि करिव १० हजार रुपैयाँ भए पर्याप्त हुने समेत बुनाकार राईले बताउनुभयो । एक पटक खरिद गरेको सटल बर्षौसम्म प्रयोग हुने भएकोले अत्यन्त उपयोगी रहेको राईको भनाई छ ।

सम्बन्धित समाचार