ताम्कु । विद्युतको केन्द्रीय प्रसारण लाईन नपुगेका सङ्खुवासभाका २ स्थानीय तहहरु मध्ये सिलिचोङ गाउँपालिकामा विद्युतको केन्द्रीय प्रसारण लाईन पुगेको छ । तीन बर्ष अघिदेखि प्रसारणको काम सुरु गरि साउन १ बाट सिलिचोङ गाउँपालिका वडा नम्बर ५ याफुमा विद्युत बाल्न सुरु गरिएको हो ।
विद्युत प्राधिकरणको आर्थिक लगानी र स्थानीय नागरिकहरुको श्रमदानबाट विद्युत पुराईएको हो । वडा नम्बर ५ याफुको पहिलो चरणमा ६४ घर परिवारमा विद्युत बालिएको छ । वडा नम्बर ५ याफुको वडा कार्यालय लगायतका ४ सरकारी कार्यालय र अन्य ६० घर परिवारमा विद्युत बालिएको वडा नम्बर ५ का अध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो । वडा नम्बर ५ का ३ सय ३६ परिवारलाई लक्षित गरि विद्युत विस्तार गरिएको अध्यक्ष कुलुङले बताउनुभयो ।
विद्यत विस्तारको ठेक्का लिएको ठेकेदारले समयमा काम गर्न नसकेको कारण अन्य घरहरुमा विद्युत बाल्न ढिलो भएको अध्यक्ष कुलुङले बताउनुभयो । बाँकी घरहरुमा पनि विद्युत बाल्नको लागि ठेकेदारलाई द्रत गतिमा काम गर्न लगाईएको बताउनुहुँदै आगामी दशैसम्ममा विद्युत बालिसक्ने योजना रहेको अध्यक्ष कुलुङले बताउनुभयो ।
वडा नम्बर ५ याफुमा विद्युत बाल्नको लागि सम्पुर्ण सामग्रीहरु चिचिला गाउँपालिकाको खेवाटारबाट बोकेर लगिएको थियो । श्रमदानले सम्पुर्ण सामानहरु याफु गाउँ पुराउन तीन बर्षमा करिव एक हजार पाँच सय दिन श्रमदान खट्नु परेको स्थानीय युवा बुद्धिमान कुलुङले जानकारी दिनुभयो । खेवाटारबाट ट्रान्फर्मर, विद्युत पोल, तार लगायतका सम्पुर्ण सामानहरु करिव ९ किलो मिटरको दुरीमा याफु पुराईएको वडा सदस्य कुलुङले बताउनुभयो । कुलुङका अनुसार हाईटेन्सनको लाईन एक सय ३४, शाखा प्रसारण लाईनको पोल एक सय ५३, ट्रान्सफर्मर १ र तार १२ बण्डल श्रमदानले बोकेरै पुराईएको कुलुङले जानकारी दिनुभयो ।
सिलिचोङ गाउँपालिका वडा नम्बर ४ मांतेवामा पनि विद्युत विस्तारको काम भईरहेको छ । यहाँ पनि पोल, तार, ट्रान्सफर्मर लगायतका सामानहरु ढुवानी गर्ने काम भईरहेको वडाअध्यक्ष देवेन्द्र बान्तावाले जानकारी दिनुभयो । वडा नम्बर ४ मा पनि दशै भित्रमा केन्द्रीय प्रसारण लाईनबाट विद्युत बालिसक्ने योजना रहेको अध्यक्ष बान्तावाले जानकारी दिनुभयो । वडा नम्बर ४ र ५ मा चिचिला गाउँपालिकाको नामा गाउँबाट केन्द्रीय प्रसारण लाईन सिलिचोङ भित्राईएको हो ।
गाउँपालिका भरि नै केन्द्रीय प्रसारण लाईनको विद्युत बाल्न चरणबद्ध योजना रहेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङको भनाई छ । यो बर्ष वडा नम्बर ४ र ५ मा बाल्ने र आगामी बर्षदेखि ३, २ र १ मा पनि बाल्ने योजना बनाएको अध्यक्ष कुलुङले बताउनुभयो । अहिले ४ र ५ बाहेकका वडाहरुमा स्थानीय खोलाहरुबाट सानो क्षमताको लघु जलविद्युत उत्पादन गरेर उपभोग गरिदै आएको छ ।
प्रतिक्रिया