खाँदबारी । पछिल्लो समय घट्दो क्रममा रहेको भेडा पालनको आफ्नै समय चक्र छ । हिउँदको समयमा बेशी झर्ने र बर्षातको समयमा लेक चढ्ने भेडा पालनको समय चक्र हो ।
जेठ अन्तिमबाट लेक उक्लिन सुरु गरेकोे भेडा भदौ अन्तिम तिर लेकको अन्तिम खर्क सङ्खुवा खोलाको शिर क्षेत्रमा पुग्ने गर्छ । करिव पाँच हजार मिटरको उचाईमा रहेको यो खर्कमा करिव तीन महिना जत्ति भेडा रहन्छ र फेरी ओरालो झर्ने गर्छ । निक्कै तलको सङ्खुवा र सिसुवाखोलाको तिरबाट सिरसम्म पुग्ने भेडाको चार वटा खर्कहरु छन् । चार खर्क रहेकोमा प्रत्येक खर्कमा कम्तिमा दुई हप्ता राखेपछि खर्क सार्ने गरिन्छ ।
भेडा पालनमा गोठ आवश्यक पदैन । भेडाका साना पाठापाठी बाहेक अन्यलाई खुल्ला ठाउँमा राख्ने गरिन्छ । सयौंको संख्यामा राखिने भेडा लेक उक्लिने र बेशी झर्ने बेला भएपछि आफै बाटो लाग्ने हालै भेडिगोठ पुराएर गाउँ फर्किनुभएका टिकाराम कुलुङले बताउनुभयो । ‘खर्क सर्ने समय भेडा आफैलाई थाहा हुन्छ, बाटो चिन्ने एउटा हिडेपछि सवै बाटो लाग्छन्, रोक्न सकिदैन’, कुलुङले भन्नुभयो । भेडा हिड्ने समय गोठालोलाई पनि थाहा हुने भएकोले आफ्नो तयारी गोठालोले पनि गरेर बस्ने गरेको कुलुङको भनाई छ । केहि बिरामी भएको भेडा र पाठापाठी बोक्नु पर्ने भएकोले खर्क सर्दा झण्झटिलो हुने कुलुङले अनुभव सुनाउनुभयो । हिमाली क्षेत्रमा असोजको अन्तिम तिर हिउँ पर्न थालेपछि भेडी गोठ बेशी झार्ने गरिन्छ । झर्दा पनि लेक चड्दाकै बाटो र खर्कमा राख्नै ल्याउने गरिन्छ ।
माग अत्याधिक, पाल्न मुस्किल
भेडाको बजार माग अत्याधिक भएपनि पाल्न सहज नभएको भेडा पालकहरुको भनाई छ । पछिल्लो समयका युवाहरुमा यस सम्बन्धी चासो नहुँदा भेडा पालन संकटमा पर्दै गएको सिलिचोङ ३ ताम्कु सिकिदिमका भेडा पालक टेकबहादुर कुलुङको भनाई छ ।
अहिलेका युवायुवतीहरु विभिन्न काममा शहर केन्द्रित भएको र फुर्सदिलाहरुले पनि गोठमा बस्ने मन नगरेपछि भेडा पालन गर्नेहरुको संख्या अति न्युन रहेको कुलुङको भनाई छ । तलव दिएर राख्न खोज्दा पनि गोठालो नपाईने समस्या रहेको उहाँले अनुभव सुनाउनुभयो । गाउँकैलाई राम्रो तलव दिने गरि गोठालो राख्न खोज्दा नपाएपछि आफुहरुले सोलुखुम्बुबाट गोठालो ल्याएर राखेको उहाँले बताउनुभयो । गोठालो गर्न उत्ति अप्ठ्यारो काम नभएपनि एकान्तमा सिमित ब्यक्तिहरुसँग बस्नु पर्ने भएकोले गोठालो बस्न मन नगरेको भेडा पालक कुलुङको अनुभव छ ।
भेडा पालन छोडिदै गए पनि माग भने उच्च रहेको भेडा पालकहरु बताउछन् । मुख्य गरि भेडाको मासु विक्रि गरिन्छ । यो बाहेक घिउ र उन भेडाको अर्को आमदामीको श्रोत हुन् । भेडाको खसी किन्न चार दिनसम्म हिडेर भेडी गोठमा नै पुग्ने गर्छन् । किराँत समुदायमा भेडाको पाठाले पुजा गरे राम्रो हुने मान्यताका कारण पाठापाठी पनि राम्रो विक्रि हुने गरेको भेडा पालकहरु बताउछन् । जनशक्ति भए भेडा पालनबाट राम्रो आमदामी लिन सकिने अर्का भेडा पालक तुलाबहादुर कुलुङको भनाई छ ।
गोरखापत्रबाट साभार गरिएको ।
प्रतिक्रिया