चिचिलामा पहिलो दिन स्वास्थ्य शिविरबाट सय बढि स्थानीयले लिए सेवा



खाँदबारी । चिचिला गाउँपालिकाले आयोजना गरेको निशुल्क स्वास्थ शिविरबाट पहिलो दिन १ सय १६ जनाले सेवा लिएका छन् । सोलुखुम्बु पोलिक्लिनिक एकेडेमी काठ्माण्डौको आयोजना र चिचिला गाउँपालिकाको ब्यवस्थापनमा आयोजना गरिएको ३ दिने शिविरबाट स्थानीय विभिन्न सेवा लिएका हुन् ।

पहिलो दिन आईतबार हाड जोड्नीका ४१, मुटु रोगका १५, स्त्री रोगका १७ र अन्य रोगका ४३ गरि एक सय १६ जनाले सेवा लिएको चिचिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रदेवी राईले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि दिउसो ४ बजेसम्म सञ्चालन गरिने शिविरको तेश्रो दिन (मंगलबार) भने अपरान्ह १२ बजेसम्म मात्र सेवा दिईने प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभभयो ।

चिचिला गाउँपालिकाको विशेष अनुरोधमा सोलुखुम्बु पोलिक्लिनिकले निशुल्क शिविर सेवा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो । गाउँपालिकामा विभिन्न रोगबाट ग्रसित नागरिकहरुलाई आफ्नै गाउँमा सेवा दिने उद्देश्यले निशुल्क सिविरको सेवा दिईएको शेर्पाले बताउनुभयो । गाउँमै शिविरको आयोजना गरेर बिरामीहरु टाढा गएर उपचार गर्ने पैसा बचेको अध्यक्ष शेर्पाको दावी छ ।

चिचिला गाउँपालिकामा गत बर्ष पनि नोबेल अस्पतालसँग सहकार्य गरि विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरको आयोजना गरेको थियो । उक्त शिविरबाट पनि हजार बढि नागरिकहरुले स्वास्थ्य सेवा लिएका थिए । यस पटकको शिविरमा कोरोना भाईरसबाट बच्न सुरक्षा सावधानी अपनाएर शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार