चिचिलामा दुई सय रोपनीमा लगाईयो पानी मकै



खाँदबारी । जिल्लाको चिचिला गाउँपालिकाका कृषकहरुले दुई सय रोपनी क्षेत्रफलमा पानी मकै लगाएका छन् । अघिल्लो बर्षसम्म थोरै क्षेत्रफलमा मात्र लगाईएको मकै यस बर्ष गाउँपालिकाको साझेदारीमा ठुलो क्षेत्रफलमा लगाईएको हो ।

अत्यन्तै पौष्टिक तत्वयुक्त र स्वादिलो मानिने पानी मकै उत्पादनका लागि गाउँपालिकाले वडा नम्बर ४ को मत्छे र धजे क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरेको छ । पकेट कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले कृषकहरुलाई १२ लाख रुपैयाँ बराबरको अनुदान दिएको छ । उक्त बजेटबाट मकैको बिउ खरिदमा ५० र सिँचाई ब्यवस्थापनमा ८५ प्रतिशत कृषकलाई अनुदान दिएको हो । अनुदान सहितको पानी मकै उत्पादन पकेट कार्यक्रममा २५ कृषकहरु सहभागी रहेको चिचिला गाउँपालिका कृषी शाखाले जनाएको छ ।

पानी मकैको उत्पादन बृद्धि गर्ने उद्देश्य राखेको गाउँपालिकाले यस बर्ष प्रति रोपनी दुई सय पचास किलोग्रामसम्म उत्पादन गर्ने लक्ष्य लिएको छ । मुख्य गरि सिँचाई ब्यवस्थित बनाईएकोले अघिल्लो बर्षहरु भन्दा यस बर्ष केहि उत्पादन बृद्धि हुने गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनुभयो । कृषकहरुले यस अघि पनि प्रति रोपनी दुई सय किलोग्रामसम्म उत्पादन गर्दै आएकोमा यस बर्ष उत्पादन बृद्धि हुने अध्यक्ष शेर्पाको दावी छ । पानी मकैको मुल्य अहिले प्रति पाथी (करिव ४ किलोग्राम) ३ सय देखि ४ सय रुपैयाँसम्म छ । यो मकै सुगरका बिरामीहरुका लागि अन्य प्रजातीको मकै भन्दा पनि लाभदायक भएको दावी गरिएको छ ।

अन्यत्र कतै नफल्ने तर सङ्खुवासभाको चिचिला गाउँपालिकामा मात्र पानी मकै उत्पादन हुने गरेको गाउँपालिकाको दावी छ । यो प्रजातीको मकैको बारेमा आफुले पनि विभिन्न जिल्लामा खोजी गरेको र कृषी कार्यालयहरु मार्फत समेत खोजी गर्दा यो किसिमको मकै कतै फेला नपरेको गाउँपालिका शेर्पाले बताउनुभयो । पानी मकैको बारेमा सङ्खुवासभा आएपछि मात्र थाहा पाएको कृषी ज्ञान केन्द्रका प्रमुख गोविन्द आचार्यले बताउनुभयो । पानी मकैको बारेमा आफुले सुनेपछि कृषी प्राविधिक त्यस क्षेत्रमा नमुना संकलन तथा अध्ययनको लागि पठाएको समेत प्रमुख आचार्यले बताउनुभयो । मकैको दाना हेर्दा गणेश जातको जस्तो देखिए पनि पानी बिना नफल्ने भन्ने कुराले अन्योल बनाएको उहाँले बताउनुभयो ।

कसरी लगाईन्छ पानी मकै ?

पानी मकै अन्य जस्तै उस्तै आकार र प्रकारको हुन्छ । तर रोप्ने र गोड्मेल गर्ने तरिका भने फरक छ । पानी मकै कृषक काजीमान गुरुङका अनुसार यस मकैको बोटमा निरन्तर पानी लगाउनु पर्छ । मकैको बोटमा लगातार पानी बग्नु पर्ने भएकोले पर्याप्त सिँचाई हुने क्षेत्रमा मात्र यो बाली लगाईन्छ । यस मकैलाई नियमित पानी आवश्यक भए पनि बोटमा पानी जम्नु हुदैन । मकैको बोटमा पानी जमे बोट मर्ने तथा नबढ्ने समस्या हुन्छ । पानी नजम्नको लागि माटो भिरालो बनाउनु पर्दछ । प्रत्येक बोटमा पानी नपुगे पनि फल दिदैन ।

पानी मकैका लागि अतिरिक्त मल आवश्यक नपर्ने अर्को कृषक मिना राई बताउनुहुन्छ । यो मकैका लागि पानी नै मल भएकाले अरु मल लगाउने नगरेको उहाँको भनाई छ । ‘पानीमा मल लगाए पनि बगाएर लगिहाल्छ, त्यहि भएर मल लगाउने कुरै भएन, यसको लागि त पानी नै मल हो’, कृषक राईले भन्नुभयो । यस अघि मल लगाएर मकै लगाउदा पनि खासै फरक नपरेको किसानहरुले आफ्नो अनुभव सुनाएका छन् । यस प्रजातीको मकै करिव डेढ फुटको भएदेखि पाक्न थालेसम्मको अवधिमा पानी लगाईन्छ ।

सम्बन्धित समाचार