युद्धग्रस्त सिरियाकी टेबल टेनिस खेलाडी हेन्ड जाजा टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताकै कान्छी खेलाडी बनेकी छिन् । ओलम्पिकमा पहिलोपटक खेल्न गइरहेकी जाजाको उमेर १२ वर्ष मात्र छ । टोकियो ओलम्पिकमा ११ हजार दुई सय २८ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । गत वर्ष जोर्डनमा सम्पन्न ओलम्पिक छनोटमा जाजाले स्थान सुरक्षित गर्दा ११ वर्ष मात्र थिइन् । सन् २००९ मा जन्मेकी जाजा विश्व टेबल टेनिस वरीयतामा एक सय ५५औँ स्थानमा छिन् । छनोट प्रतियोगितामा उनले लेबनानकी लेवानोन मारियालाई ४–३ ले हराएकी थिइन् । सिरियाको टेबल टेनिस इतिहासमा छनोट चरण पार गरी ओलम्पिकमा स्थान बनाउने उनी पहिलो खेलाडी हुन् ।
जाजाले ओलम्पिक छनोटमा हराएकी मारियिनाको उमेर ३१ वर्ष थियो । टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा मार्चपासमा सहभागी भएकी जाजालाई सिरिया ओलम्पिक कमिटीले बधाई दिएको छ । ‘बधाई छ हाम्री च्याम्पियन खेलाडी, टोकियो ओलम्पिक २०२० कै सबैभन्दा कान्छी खेलाडी बनेकी छिन्,’ सिरिया ओलम्पिक कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनी सिरियामा कम उमेरमै सबै राष्ट्रिय टेबल टेनिस उपाधि जित्ने पहिलो खेलाडी हुन् ।
एक दशकदेखि द्वन्द्वग्रस्त सिरियामा राम्रोसँग अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता भएका छैनन् । जाजाले निकै कठिन अवस्थामा ओलम्पिकमा स्थान बनाएको बताएकी छिन् । ‘मैले टोकियो ओलम्पिकका लागि राम्रोसँग प्रशिक्षण लिन पाइनँ, तर सबैका सहयोगले यहाँसम्म आउन सफल भएँ,’ सिएनएनलाई जाजाले भनेकी छिन्, ‘यो ओलम्पिक यात्रामा मलाई परिवारबाट धेरै सहयोग प्राप्त भएको छ ।’
जाजाले शनिबारै आफ्नो पहिलो ओलम्पिक डेब्यू खेलमा अनुभवी अस्ट्रियाकी लिउ जियासँग प्रतिस्पर्धा गर्नेछिन् । जाजाले ओलम्पिकसँगै विश्व च्याम्पियनसिप उपाधि जित्ने लक्ष्य रहेको बताएकी छिन् । ‘ओलम्पिक खेल्ने मेरो सपना पूरा भएको छ अब कम उमेरमै विश्व च्याम्पियन बन्ने हो,’ जाजा भन्छिन् ।
यसैगरी, टोकियो ओलम्पिकमा सबैभन्दा पाका खेलाडी अस्ट्रियन घोडचढी खेलाडी म्यारी हाना हुन् । हानाले छैँटौँपटक ओलम्पिक खेल्दै छिन् । ६६ वर्षीया हानाले टोकियो ओलम्पिकलाई अन्तिम सहभागिताका रूपमा लिएकी छिन् । ओलम्पिक इतिहासमा हान दोस्रो पाका खेलाडीका रूपमा रहेकी छिन् ।
प्रतिक्रिया