झापामा कोरोना बढेको बढ्यै, धमाधम सिल गरिदै स्थानीय तहहरु



झापा । पछिल्लो हप्ता झापामा कोरोना सङ्क्रमण दर तीव्र गतिमा बढिरहेको छ। सङ्क्रमण बढे पनि निषेधाज्ञा भने नाम मात्रको रहेको छ ।

शुक्रवार झापामा ३६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। यो कोरोनाको दोस्रो लहर सुरु भए यता वैशाख २९ पछि कै उच्च हो।

गएको वैशाख २९ गते ३७१ जनामा सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो। असार १२ गते सङ्क्रमितको सङ्ख्या ४२ जनामा झरेको थियो। त्यसपछि पुनः संक्रमणदर तीव्र रूपमा बढ्दै गएको देखिन्छ। संक्रमणदर निरन्तर उकालो लागे पनि प्रशासनले निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगेको छ। साउन सात गते बसेको कोभिड १९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सबै किसिमका पसलहरू बिहान ६ देखि बेलुका ७ बजे सम्म सञ्चालन गर्न अनुमति दिएको छ। त्यस्तै निजी तथा सार्वजनिक सवारीमा लाग्दै आएको जोरबिजोर प्रणाली हटाउनुका साथै लामो दुरीका सवारीसाधन समेत सञ्चालन गर्न अनुमति दिएको छ ।

जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै लगे पनि पालिकाहरूले भने आफ्नो क्षेत्र धमाधम सिल गर्न थालेका छन्। कोरोना संक्रमणदर बढेको भन्दै साउन ५ गतेदेखि १२ गते मध्यरात सम्म लानुहुने गरी बुद्ध शान्ति गाउँपालिकाले आफ्नो क्षेत्रभित्र मानिसको आवतजावत रोक्न सिल गरेको जनाएको छ। त्यस्तै अर्जुनधारा नगरपालिकाको ८ नम्बर वडा कार्यालयले पनि शनिश्चरे बजार क्षेत्र एक साताको लागि बन्द गरेको छ। कार्यालयले साउन ८ गते देखी १५ गतेसम्म बजार बन्द गरेको जनाएको हो।

कोरोना भाइरसको सङ्क्रमित सङ्ख्या बढेको भन्दै कन्काई नगरपालिकाले आज राती १० बजेबाट लानुहुने गरी १६ गते सम्म नगरका सबै चोक, बजार र टोल सिल गरेको जनाएको छ। नगरपालिकाले विज्ञप्ति जारी गरी अत्यावश्यक बाहेक सबै पसलहरू बन्द गर्ने निर्णय गरेको जनाएको हो।

झापामा शुक्रवारसम्म कोरोना सङ्क्रमणबाट ४२० जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार ६५ हजार ८७४ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १६ हजार ६३९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामा हाल १ हजार ७७८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..