अमेरिकाले इराक मिसनबाट आफ्ना सैनिक फिर्ता बोलाउने


१२ श्रावण २०७८, मंगलबार


काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकु सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताउनुभएको छ ।

अमेरिकाको भ्रमणमा रहेका इराकका प्रधानमन्त्री मुस्ताफा अल–खादिमीसँग ह्वाइटहाउसमा भएको भेटवार्तामा बाइडेनले अमेरिकी सैनिक फिर्ता बोलाउनेबारे जानकारी गराउनु भएको बीबीसी हिन्दीमा उल्लेख छ । तर, उहाँले थोरै सङ्ख्यामा अमेरिकी सेना इराकमा रही त्यहाँका सैनिकलाई तालिम दिने व्यवस्था मिलाउने बताउनु भएको छ ।

बाइडेनको यस घोषणाको इराकका प्रधानमन्त्री मुस्ताफाले स्वागत गर्नुभएको छ । मुस्ताफाले अमेरिकी सेनाले परिचालन नभइ इराकी सेनालाई सुरक्षा सामग्री र तालिम दिने लगायतका विषयमा मात्रै सहयोग दिँदा राम्रो हुने बताउनु भएको छ ।

अहिले इराकमा करिब २५ सय बढी अमेरिकी सैनिक रहेका छन् । अमेरिकी सैनिकले इस्लामिक स्टेट नामको आतङ्ककारी समूहविरुद्ध लड्न इराकी सेनालाई मद्दत गर्दै आएका छन् ।

सम्बन्धित समाचार