जसपाका नेता फकाउँदै महन्थ ठाकुर


१७ भाद्र २०७८, बिहिबार


काठमाडौं । नयाँ पार्टी गठन गरेर महन्थ ठाकुरले राजनीतिक शाख जोगाए ।तर, पार्टी बलियो बनाउन उनलाई सहज छैन । मधेशवादी दलको अधारभूमि प्रदेश नं २ हो । जहाँ जसपा अध्यक्ष उपेन्द्र यादवकै दबदबा छ । जसपाबाटै चोइटिएर ठाकुर प्रदेश(२ लाई नै कर्मभूमि मान्दै लोकतान्त्रिक समाजवादी पार्टी खोलेका हुन् । स्थानीयदेखि केन्द्रसम्म चुनाव जितेका नेताहरु ठाकुरको पक्षभन्दा यादवको कित्तामा धेरै छन् ।

जसपाका नेताहरुलाई आफ्ना पक्षमा फकाएर ल्याउन अध्यक्ष ठाकुर दलबलसहित जनकपुरधाम पुगेका छन् । वरिष्ठ नेता शरतसिहं भण्डारी, राजेन्द्र महतो, अनिल झालगायतका नेताहरु पनि उनीसँगै तराई झरेका हुन् ।

निर्वाचन आयोगले नेकपा (एमाले) र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई क्रमशः नेकपा (एकीकृत समाजवादी) र लोसपा रोज्न २२ भदौसम्मको समय दिएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र प्रदेश सभा सदस्यलाई फकाएर पार्टी बलियो बनाउन अध्यक्ष ठाकुर जनकपुरधाममा गोप्य छलफल गरिरहेका छन् ।

जसपा विभाजित भएपछि उपेन्द्र यादव र ठाकुर पक्षले नेता तथा कार्यकर्ताहरु तानातान गरिरहेका छन् । मधेशवादी दलको जनआधार क्षेत्र प्रदेश २ मा यादवपक्ष र ठाकुरपक्ष आफ्नो पार्टी बलियो बनाउन सबै प्रकारका जुक्ति लगाइरहेका छन् । जसपाका नेताहरुलाई फकाउन उनले पार्टीमा राम्रो पद र आउँदो चुनावमा टिकट दिने लोभ पनि दिइरहेका श्रोतले जनाएको छ ।

प्रदेश२ का जनप्रतिनिधिको हिसाबले उपेन्द्र यादवले नेतृत्व गरेको जसपा मजबूत स्थितिमा छ । ‘५५ जना प्रदेश सभा सदस्यमध्ये ४० जना हाम्रो पक्षमा छन्,जसपा प्रदेश २ का संसदीय दलका उप/नेता राम अशिष यादवले भने,‘लोसपाको पक्षमा १४ जना प्रदेशसभा सदस्य छन् ।’ ठाकुर पक्षका १ प्रदेश सभा सदस्य सभामुख छन् । उनले कुनै दल रोज्न पाउँदैन ।

जसपाबाट अलग भएर दर्ता भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि प्रदेश २ का प्रदेशसभा सदस्यहरुले बुधबार सनाखत गराएका छन् । जनता समाजवादी पार्टी (जसपा) छोडेर ११ जना प्रदेशसभा सदस्यले लोसपा रोजेका छन् । उनीहरुले बुधबार प्रदेश २ को निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा जसपा छोडेर ११ सनाखत गरेका हुन् ।

बाँकी रहेका प्रदेशसभा सदस्यहरुले बिहीबार सनाखत गराउने लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए । लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनरायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन् ।

जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका प्रदेशसभा सदस्यहरुले बिहीबार सनाखत गराउने जनाइएको छ । पार्टी संगठनको जनआधार आफुहरुको पक्षमा रहेको लोसपाका केन्द्रीय सदस्य केशव झाले दावी गरे जसपाका ३७ सांसद मध्य १५ जना महन्थ पक्षमा रहेको उनले जनाए ।

जनकपुर पुगेका अध्यक्ष ठाकुरले जसपा भन्दा लोसपाको जनअधार बलियो रहेको दावी गरे । साविकको राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित सबै जनप्रतिनिधिले आफूलाई साथ दिने जिक्किर गर्दै उनले संचारकर्मीसंग भने,‘अरुलाई लाग्दा छ कि हामी कमजोर छौं । हेर्दै जानुस् हाम्रो पार्टी पहिला भन्दा बलियो हुन्छ ।’

जिल्ला-जिल्लाको निर्वाचन कार्यालयमा जसपाका नेताहरुले लोसपा रोजेर सनाखत गर्ने क्रम बढेको उनले बताए ।

सम्बन्धित समाचार