विराटनगर । प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन् । आफन्त र स्थानीयले गरेको प्रदर्शनका कारण विराटनगर(धरान रोडको अवस्था तनावग्रस्त बनेको छ ।
हिरासतमा भएका व्यक्तिको मृत्युको विरोधमा आन्दोलनरत पक्षले टायर बालेर सडक अवरुद्ध गरेका छन् । ठूलो सङ्ख्यामा सडकमा उपस्थित भएका मृतकका आफन्त र स्थानीयले प्रहरीविरुद्ध नाराबाजी पनि गरिरहेका छन् ।
प्रहरीले भिडलाई तितरबितर पार्ने क्रममा अवस्था तनावग्रस्त बनेको हो । आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुडा पनि गरिरहेका छन् ।
शुक्रबार गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको आइतबार दिउँसो मृत्यु भएको थियो ।
प्रहरीको यातनाका कारण मृत्यु भएको भन्दै आफन्तले सोमबार पनि विराटनगरमा प्रदर्शन गरेका थिए । आफन्तले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले छानविन गरेको थियो तर मङ्गलबार पनि पुनः सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । प्रहरीले शुक्रबार कामतको घरबाट तीन किलो चार सय ८० ग्राम गाँजा बरामद गरेको थियो ।
आफन्तले प्रहरीको यातनाका कारण मृत्यु भएको दाबी गरे पनि प्रहरीले भने यातना नदिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार आइतबार बिहान अचानक बिरामी परेका कामतलाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।


प्रतिक्रिया