भदौ १४ पछी बुबासँग बोल्न पाइन : मादी हत्यामा मृतकका कान्छा छोरा


२४ भाद्र २०७८, बिहिबार


दुबईबाट सिधै धरान आइपुगेका कान्छो छोरा भन्छन्, कमाएको पैसा दमक पठाएको थिएँ, बुबाआमालगायत सबै परिवारलाई दमक ल्याउने सपना चकनाचुर भयो, अपराधीलाई कडा कारवाही होस् ।

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँँको उम्लिङमा अज्ञात समूहले विभत्स हत्या गरेका ६ जनाको धरानमा पोष्टमार्टम भएको छ ।

सोमबार अज्ञात समूहले ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षकी गोमा कार्कीको हत्या गरेको थियो । उनीहरुको धरानमा पोष्टमार्टमपछि इटहरीस्थित बुढीखोलामा अन्त्येष्टी गरिसकिएको छ ।

पोष्टमार्टमका लागि दुबईमा रहेका कान्छो छोरा नरेशकुमार कार्की धरान आइपुगेका छन् । उनी मङ्गलबार राति नेपाल आइपुगेको र त्यसपछि सिधै धरान आइपुगेको उनले जानकारी दिए । जेठो छोरा मलेसियामा कार्यरत् छन् । उनी शनिबार नेपाल आइपुग्ने उनले जानकारी दिए ।

भदौ १३ र १४ गते बुबासँग बोलियो, त्यसपछि बोल्न पाइएन
उनले बुबासँग भदौ १३ र १४ गते कुराकानी भएको र त्यसपछि बोल्न नपाएको जानकारी दिए । ‘२९ र ३० तारिखका दिन कुराकानी भएको थियो’, उनले भने, ‘खासमा पारिवारिक कुराकानी नै भएको थियो, बुबाले झैझगडालगायतका विषयमा केही कुरा सुनाउनुभएको थिएन ।’
जग्गा किन्ने कुरा थियो, भएको पैसा पनि यतै पठाएको थिएँ

आफू र परिवार झापाको दमकमा बस्दै आएको बताउँदै उनले बुबाआमालाई दमकमा ल्याउने कुरा भएको बताए । ‘दमकमा जग्गा किन्ने कुरा भएकै हो’, उनले भने, ‘तर भएको पैसा मैले दमकमा परिवारको खातामा पठाइसकेको थिएँ, गाउँमा जे जति पैसा उठ्न बाँकी थियो, त्यो पैसा उठाएर जग्गा पास गर्ने अन्तिम तयारी थियो ।’

परिवारै सबै एकै ठाउँमा बस्ने भनेर जग्गा किन्ने तयारीमा आफूहरु रहेको उनले जानकारी दिए । ‘हामी छुट्टिएका थिएनौं, पहिला दमकमा एउटा भिट्टा थियो, त्यो बेचेर सबैजना एकै ठाउँमा बस्ने भनेर दमकमा जग्गा किन्ने तयारीमा थियौं’, उनले भने, ‘बुबाआमा, हजुरबुबा, हजुरआमालाई पनि मङ्सिर, पुससम्ममा त्यहाँ ल्याउने सपना थियो तर सबै सपना चकनाचुर भयो ।’ उनले छिटोभन्दा छिटो अपराधी पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । ‘अपराधी छिटो पत्ता लगाउनुपरयो, पत्ता लगाइसकेपछि कडाभन्दा कडा कारवाहीको माग गर्दछु ।

योजनाबद्ध र सामूहिक हत्या
छिमेकी ऋषि थापाले योजनाबद्ध र सामूहिकरुपमा मिलेर हत्या गरिएको बताए । ‘खासमा यो एक्लैले हत्या गरेकै होइनजस्तो लाग्छ’, उनले भने, ‘योजनाबद्धरुपमा र सामूहिक हत्या हो भन्छु ।’

सम्बन्धित समाचार