यी हुन् शेयर बजार घटबढ हुने कारणहरु



अन्य बजारहरुमा पनि बस्तुको मुल्य घटबढ भए जस्तै शेयर बजारमा पनि स्कृप्टको मुल्य घट्ने वा बढ्ने क्रम चलिरहन्छ । मुख्य गरि नयाँ लगानीकर्ताहरु वा स्टक मार्केट विश्लेषण गर्न नसक्ने लगानी कर्ताहरु मुल्य घट्दा धेरै आत्तिने वा केहि बढ्ने वित्तिकै बेचिहाल्ने गरेको प्रसस्त देखिन्छ । मुख्य गरि नयाँ लगानी कर्ताहरुको जानकारीका लागि यस पटक बजार मुल्य कसरी र कहिले बृद्धि हुन्छ ? के के कारणले घटबढ हुन्छ ? लगायतका विषयमा जानकारी प्रस्तुत गरिएको छ ।

बजार चक्र (Market Cycle) भनेको के हो ?

शेयर बजारमा कम्पनीहरुको शेयर मुल्य बढदा सिंगो बजारको परिसुचक अंक पनि बढछ भने मुल्य घटदा परिसुचक अंक पनि घटछ । विश्वभरी नै शेयरबजारमा कम्पनीहरुको शेयरको मुल्य एक बिन्दुसम्म बढदै बढदै माथी जान्छ र एउटा बिन्दुमा पुगेपछि जसरी बढेको थियो त्यसरी नै घटछ भन्ने मान्यतामा विश्वास गरिन्छ । यसरी घटेको न्युनतम बिन्दुबाट बढेर एउटा उच्चतम बिन्दु छोएपछि घटेर न्युनतम बिन्दुमा आईपुग्दा बजारले एउटा चक्र पुरा गरेको मानिन्छ । अथवा बढेको उच्चतम बिन्दुबाट घटेर न्युनतम बिन्दु छोएपछि फेरी बढेर उच्चतम बिन्दुमा आईपुग्दा पनि बजारले एक चक्र पुरा गरेको मानिन्छ । शेयर बजारको यही पिकदेखि पिकसम्मको यात्रा वा फेददेखी फेदसम्मको यात्रालाई बजार चक्र (Market Cycle) भनिन्छ ।

बजारको मनोबिज्ञान (Market Psychology) भनेको के हो ?

शेयर बजारको मनोविज्ञानले बजार चक्र निर्धारण गर्छ । त्यसैले बजारको मनोविज्ञान बुझन जरुरी हुन्छ । बजार अब बढछ कि घटछ ? भनेर कसैलाई सोधियो भने उसले मलाई त घटछ कि भन्ने डर लागिरहेको छ भन्न सक्छ । यो एक जना लगानीकर्ताको मनोबिज्ञान हो । यस्तो डर भएको लगानीकर्ताले बेच्न खोजिरहेको हुन्छ । तर अर्को लगानीकर्ताले मलाई त बढछ जस्तो लागिरहेको छ भन्न सक्छ । यस्ता लगानीकर्ताले किन्न खोजिरहेको हुन्छ । यी दुवै लगानीकर्ताको ब्यक्तीगत मनोबिज्ञान मात्र हो ।
बजारमा लाखौं लगानीकर्ताहरु छन् । कुनै बेला यस्तो परिस्थिती श्रृजना हुन्छ कि बजारका बहुसंख्यक लगानीकर्ताहरुले बजार बढछ भन्ने मनस्थिती बनाईरहेका हुन्छन् । यस्तै गरी कहिलेकाही यस्तो परिस्थिती श्रृजना हुन्छ कि बहुसंख्यक लगानीकर्ताहरुले बजार घटछ भन्ने मनस्थिती बनाईरहेका हुन्छन् । लगानीकर्ताहरुको समग्र यही मनोबिज्ञानलाई बजारको मनोविज्ञान भनिन्छ ।

तर यसरी बहुसंख्यक लगानीकर्ता भन्नाले लगानीकर्ताहरुको संख्या होइन, बहुसंख्यक लगानी रकम हो । उदाहरणको लागी प्रतिब्यक्ती रु. १० हजार मात्र लगानी गर्न सक्ने ५ हजार जनाको समुहले बजार अब घटछ भन्ने सोचिरहेका छन् । यसको अर्थ ५ करोड रुपैयाको लगानी भएका लगानीकर्ताको मनोविज्ञान घटछ भन्नेमा छ । यस्तो बेला एक जना ६ करोड रुपैया लगानी गर्न सक्ने लगानीकर्ताले बढछ भन्ने सोचिरहेको छ भने बहुसंख्यक लगानीकर्ताले बढछ भन्ने सोचिरहेको रहेछ भन्ने बुझनु पर्दछ । किनकी यस्तो बेला ५ करोडको बिक्री अर्डर आउदा ६ करोडको खरिद अर्डर आउछ र मुल्य बढछ ।

बजारको मनोबिज्ञान (Market Psychology) को विकास कसरी हुन्छ ?

एकजना आमा जसले आफ्नो सन्तान गुमाएको हुन्छ । त्यस्ता आमाहरुले आफ्ना मरेको सन्तान जस्ता देखिने अर्काको सन्तान देख्दा पनि आशु झर्छन् । यहाँ उक्त आमाले आशु झार्नुको कारण के हो ? यहाँ त्यो अर्काको सन्तान देख्नु कारण होइन । कारण त आफ्नो सन्तान गुमाएर मनमा पिडा हुनु हो । तर यहाँ उक्त आमाको पिडा अर्काको सन्तान देख्दा मात्र सबैले देखिने गरी पोखियो र समाजमा धेरैले अर्काको सन्तान देख्नु नै कारण हो भनेर विश्वास गर्छन् । त्यो आमाको दुखी मनोविज्ञानको विकास कसरी हुदै आयो भन्ने बुझदैनन् ।

बजारमा कुनै बेला यसरी नै एउटा सानो सुचनाको भरमा भएभरका शेयर बेचेर बाहिरीनेहरु अत्याधिक हुन्छन् । तर कुनै बेला त्यसको १० गुणा नराम्रो समाचार आउदा पनि बजार बढीरहेको हुन्छ किन ? माथीको उदाहरणमा यदी विगतमा उक्त आमाले आफ्नो सन्तान नगुमाएको भए अर्काको बच्चा देख्दा किन रुन मन लाग्थ्यौ ? अर्काको बच्चा देख्नु त सानोभन्दा पनि सानो कुरा हो । त्यस्तै बजारमा पनि बिगतको समाचार र सुचनाहरुले लगानीकर्ताहरुको भित्री मनमा बिस्तारै थोरै थोरै डर जमाईरहेको अवस्थामा बजारमा आएको एउटा सानो नकारात्मक सुचनाले पनि मुल्यमा ठुलो गिरावत आइदिन्छ ।

त्यसको ठिक उल्टो यदी बजारमा विगत केही महिनादेखि राम्रो राम्रो मात्र सुचनाहरु आईरहेको अवस्थामा एउटा ठुलै नराम्रो समाचार आए पनि त्यसले बजारलाई तत्काल केही नराम्रो असर गर्दैन । त्यसैले कहिलेकाही फण्डामेन्टल विश्लेषण गरेर राम्रो कम्पनी किन्दैमा त्यसको मुल्य बढदैन किनकी मुल्यलाई प्रवाभ पार्ने तत्वहरु दर्जनौं छन् । त्यसमध्येको एउटा तत्व मात्र फण्डामेन्टल विश्लेषण हो ।

बजारको मनोबिज्ञान (Market Psychology) को अवस्था कसरी थाँहा पाउने ?

बजारको खरिद चाप र बिक्री चाप मार्केट डेप्थबाट थाँहा पाउन सकिन्छ । त्यसले लगानीकर्ताहरु बढी किन्न चाहिरहेका छन् कि बेच्न चाहिरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ । सामाजिक संजालहरुमा लगानीकर्ताहरुको पोष्ट र कमेन्टहरु हेर्न सकिन्छ । विशेषगरी ठुला लगानीकर्ताहरुको टवीटस, पोष्टहरु, कमेन्टहरु, अन्र्तवार्ताहरु र अन्र्तवार्ताका बडी ल्याङग्वेजहरुबाट बजारको धेरथोर मनोविज्ञान थाँहा पाउन सकिन्छ ।

बजारको चाल कस्तो हुन्छ ?

एकजना मान्छे शरिर घचेत्दै हिडेकोलाई घिस्रेको भनिन्छ । उठेर पाईला चाल्छ भने हिडेको भनिन्छ । छिटोछिटो पाईला चाल्यौ भने दौडेको भनिन्छ । शेयर बजार हिड्ने बाटो त बजार चक्र भईहाल्यौ तर चक्रमा बजार पनि कहिले घिस्रिन्छ, कहिले हिडछ त कहिले दौडिन्छ । तर बजारलाई चाही घिस्रेको, हिडेको वा दौडेको भनिदैन । बजारका यी पाईलाहरु बाउन्स, करेक्सन, बबल, क्र¥यास, बुल र बियर गरी ६ किसिमका हुन्छन् । यी सबै पाईलाहरु तत्कालको बजार मनोबिज्ञानले निर्धारण गर्दछ ।

१.बाउन्स र करेक्सन (Bounce and correction)

बजार अलिकति बढ्यौ भने बढेको बेला नाँफा लिईहालौं, पछि के होला होला भन्नेहरु सक्रिय हुन्छन् । यस्तो बेला बिक्री चाप बढ्छ र त्यो अलिकति बढेको बजार फेरी अलिकति घट्छ । यसरी घटेको बेला फेरी किनिहालौं भोली पर्सी बढीहाल्छ भन्ने मनोबिज्ञान हावी हुन्छ । यस्तो बेला फेरी खरिद चाप बढछ र मुल्य हल्का बढ्छ । यसरी अलिकति बढेकोलाई बाउन्स र अलिकति घटेकोलाई करेक्सन भनिन्छ । कहिलेकाही बजारको मनोबिज्ञान बाउन्स र करेक्सनमा खेलिरहेको हुन्छ ।

२.बबल र क्र¥यास (Bubbles and Crashes)

बजार अलिकति बढयौ भने बल्ल बढेको बेला बेचिहालौ भनेर मात्र सोचिदैन । कहिलेकाही अब बढन थालेको छ झन् बढछ भन्ने मनोबिज्ञान हाबी हुन्छ । यस्तो बेला बढ्न थाल्दा झन किन्नेहरु सक्रिय हुन्छन् भने बेच्नेहरु निस्किृय हुन्छन् । किनकी बजारको मनोबिज्ञानले अब बल्ल त बढन थाल्यौ अब यो भन्दा पनि बढी बढछ भन्ने मानसिकता लिएको हुन्छ । त्यस्तै गरी कहिलेकाही बजार घट्दा अब बजार निरन्तर घटने क्रम शुरु भएको रहेछ भन्ने मानसिकता हाबी हुन्छ । यस्तो बजार मानसिकता हाबी हुँदा आखिर बजार घटेर निकै तलसम्म जान्छ भने अहिले फटाफट बेचेर पछि योभन्दा कम्ती मुल्यमा किनौला भन्नेहरु हाबी हुन्छन् । फलस्वरुप सबै बेच्ने मात्र हुन्छन् र बजार घटेको घटेई हुन्छ । यसरी बढेको बढ्यै भईरहेको बजारलाई बबल र घटेको घटेई भईरहेको बजारलाई क्र¥यास भनिन्छ ।

३.बुलिष्ट र बियरिष्ट (Bullish and Bearish)

बजार चक्रमा बजार बढदै माथी गईरहेको अवस्थालाई बुलिष्ट र पिकमा पुगेपछि तल झर्दै आईरहेको अवस्थालाई बियरिष्ट भनिन्छ । तर बजार बुलिष्टमा भए पनि बियरिष्टमा भए पनि सिधा रेखामा अगाडी बढदैन । २ पाईला बढेर १ पाईला घटने अवथा ३ पाईला बढेर २ पाईला घटने प्रबृति देखिन्छ भने ओभरलमा बजार माथी गईरहेको हुन्छ र त्यसलाई बुलिष्ट प्रवृत्ति भनिन्छ । त्यस्तै २ पाईला घटेर १ पाईला बढने प्रबृत्ति सहित ओभरलमा बजार घटिरहेको छ भने त्यो बियरिष्ट चाल हो । बुलिष्टमा होस या बियरिष्ट हुदा बजारले बाउन्स र करेक्सनको चालमा हिडन सक्छ । अथवा बुलिष्टमा होस या बियरिष्टमा होस जुनसुकै अवस्थामा रहदा पनि बजारले बबल र करेक्सनको चाल पनि लिन सक्छ । यसलाई अर्को शब्दमा भन्दा, लामो समयमा बजारले बुलिष्ट र बियरिष्टको बाटोमा हिडछ नै तर यसरी हिडदा उसको पाईला कहिले बाउन्स र करेक्सनको हुन्छ त कहिले बबल र क्र¥यासको हुन्छ । बजारको हरेक चालमा एकजना लगानीकर्ताको रणनीति कस्तो हुने ? क्रमस ……..अर्को लेखमा ।

यो पनि पढ्नुहोस

मुल्य समायोजन के हो र कसरी हुन्छ ?

 

(पछिल्लो समय शेयर बजार प्रति आम नागरिकहरुको बढ्दो चासोलाई मध्यनजर गर्दै मुख्यतः नयाँ प्रवेशीहरुलाई शेयर बजार बारे जानकारी मिलोस भनेर शेयर शिक्षा श्रृङ्खला स्तम्भ सुरु गरिएको हो । यस स्तम्भमा शेयर बजार विश्लेषक तथा जानकारहरुबाट शेयर शिक्षा सम्बन्धि लेखहरु प्रकाशन गरिने छ ।)

 

सम्बन्धित समाचार