काठमाण्डौ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा बिहान भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो ।
जितसँगै आर्मीले पहिलो खेलमै ३ अङ्क जोडेको छ । कर्णालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
अहिले दोस्रो खेलमा एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लब खेल्दै छन् । यस्तै, वाग्मती प्रदेश र गल्कोट स्पोर्ट्स क्लब दिउँसो १ बजे खेल्ने छन् भने दिउँसो साढे ३ बजे नेपाल पुलिस क्लब र दावाली मिलन क्लब खेल्ने छन् ।
महिलातर्फको खेल भने पर्सिदेखि सुरु हुनेछ । नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख रुपैयाँ पाउने छन् । तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार रुपैयाँ पाउने छन् ।
प्रतिक्रिया