सङ्खुवासभा । निर्माणाधीन अवस्थामा रहेको सभापोखरी गाउँपालिकाको प्रशासकीय भवन वर्ष दिनदेखि अपलत्र बनेको छ ।
भवन निर्माण गर्ने ठेकेदार कम्पनी वल्र्डवाइड एण्ड एसपी जेभी एक वर्षयतादेखि बेपत्ता बनेपछि भवन निर्माण अलपत्र बनेको हो । भवन निर्माण सुरु गर्दाताका नै गुणस्तरहीन भएको भन्दै स्थानीयले सच्याउन माग गरेका थिए । स्थानीयले गुणस्तरीय भवन निर्माण गर्नका लागि ठेकेदार कम्पनी र गाउँपालिकालाई ध्यानाकर्षण गराएका थिए ।
गत माघदेखि ठेकेदार कम्पनी काम छोडेर बेखबर बनेको छ । आर्थिक वर्ष २०७६र७७ मा गाउँपालिकाले विनियोजन गरेको अनुमानित ३ करोड बजेटबाट बोलपत्र खुलाई भवन निर्माणको प्रक्रिया सुरु गरेको थियो । २ करोड २५ लाखमा ठेक्का पारेको वल्र्डवाइड एण्ड एसपी जेभी एक वर्षदेखि बेपत्ता बनेको छ ।
यता गाउँपालिकाले पनि चासो देखाएको छैन । ठेकेदार कम्पनी, गाउँपालिकाको प्राविधिक, कर्मचारी र जनप्रतिनिधिसम्मको मिलेमतोमा कमसल सामान र स्टिमेटमा समेत कमजोरी गरेको स्थानीय भीम लिम्बूले बताए । भवन निर्माण गर्दा पु¥याउनुपर्ने सामान्य मापदण्डसमेत नपु¥याएको उनको दाबी छ ।
निर्माण गुणस्तरहीन भएको भनी गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दललाई समेत जानकारी गराउँदा पनि चासो नदिएपछि स्थानीयले निर्माणस्थलमा गएर काम रोकेका थिए । त्यसयता निर्माण कम्पनी बेपत्ता बनेको र गाउँपालिका पनि मौन रहेको स्थानीय सुजन राईले बताए । खबरदारी गर्दा पनि हालसम्म बेवास्ता गरिरहेको उनले बताए ।
यता गाउँपालिकाका प्रशासकीय अधिकृत प्रकाश मगर गाउँपालिकाले ठेक्का प्रक्रिया पूरा गरी अगाडि बढाइएको योजनामा स्थानीयले अवरोध गरेपछि स्थगित गरिएको बताए । उनले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका विषयमा छानबिन तथा छलफल गर्नको लागि स्थगित गरेको बताए ।
तर, कुनै पनि प्रक्रिया भने अगाडि बढाउन नसकेको र गुणस्तरीय भवन निर्माणमा आफू कटिबद्ध रहेको बताए । स्थानीयले गुणस्तरीय भवन निर्माणको लागि गाउँपालिकाले कम्पनीसँग परामर्श गरेर काम सम्पन्न गर्नुपर्ने माग गरिरहेका छन् ।
ब्लास्ट खबरबाट
प्रतिक्रिया