संखुवासभा । नेकपा माओवादी केन्द्र संखुवासभाका नेता रिपुप्रसाद राई (आरपी किराँती देवान) ले प्रदेश १ को प्रदेश समितिमा उपाध्यक्ष पदमा दाबी रहेको बताएका छन् । किराँतीले अबको प्रदेश समितिमा आफ्नो उपाध्यक्षमा दावी गरेका हुन् ।
पुर्वको सिंगो माओवादीलाई पुनः संगठित गर्दै एकतावद्ध क्रान्तिकारी पार्टी निर्माणका लागि प्रदेश समितिको उपाध्यक्षमा आफ्नो दावी रहेको उनको भनाई छ । पदाधिकारी चयनका लागि माओवादीको प्रदेश समितिको दोस्रो बैठक आगामि पुस ७ गते विराटनगरमा बस्दैछ । सोही बैठकमा पदाधिकारी चयनबारे सुझाव दिन पार्टीका केन्द्रीय सदस्य अजम्बर काङवाङ राईको नेतृत्वमा ६ सदस्यीय समिति गठन भएको छ । समितिमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी रहेका छन् । समितिले दिएको पदाधिकारीको नामको आधारमा प्रदेश समितिले अनुमोदन गर्ने माओवादीले जनाएको छ ।
गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश सम्मेलनबाट निर्वाचित २५९ सदस्यीय प्रदेश समिति गठन गर्दा संखुवासभाका किराँती पनि प्रदेश सदस्यमा निर्वचित भएका थिए । २०५५ देखि तत्कालिन नेकपा(माओवादी) सदस्य रहेका किराँती २०५८ मा पुर्णकालिन भएर भुमिगत भएका थिए । २०५७ बाट नै किराँतीले पार्टीको विशेष जिम्मेवारी लिदै २०५८ मा भुमिगत भएका हुन् । २०६० मा तेह्रथुम जिल्लाको सेक्रेटरी हुदै २०६१ मा इन्चार्जको जिम्मेवारी प्राप्त गरेका थिए । २०७३ सालमा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य बनेका किराँतीले प्रदेश समिति वरिष्ठ उपाध्यक्षमा दावी गरेका छन् ।
प्रतिक्रिया